यी दुई कारणले सम्भव भयो शेयर बजारमा 'बाउन्स ब्याक'

सोमबार शेयर बजार परिसूचक नेप्से इतिहास कै सबैभन्दा धेरै अंकले बढेको छ। आज नेप्से सूचक ५.७४ प्रतिशत अर्थात १६१.९४ अंकले बढेको हो । यो हालसम्म कै उच्च अंकको वृद्धि हो । आइतबार कारोबार समयमा नेप्से सूचक १४७.३१ अंकले घटेपछि सर्किट ब्रेक लगाईएको थियो । आइतबार बजार १०६ अंकको घटेर बन्द भएको थियो। तर आज सोमबार बजार बाउन्स ब्याक भएको हो । बजार बाउन्स ब्याक हुनको लागि २ विषयले काम गरेको बताईएको छ ।पहिलो अर्थमन्त्री र नेपाल राष्ट्र बैंकका गभर्नरबीच फोन वार्ताको समाचार ।  शेयर बजारमा देखिएको पछिल्लो परिस्थितिका सम्बन्धमा अर्थ मन्त्रालयको ध्यानाकर्षण भएको र राष्ट्र बैंकद्वारा जारी मौद्रिक नीति र निर्देशिकापछि पुँजी बजारमा देखिएको स्थितिका सम्बन्धमा अर्थमन्त्री जनार्दन शर्माले सोमवार गभर्नर महाप्रसाद अधिकारीसँग टेलिफोन कुराकानी गरेको समाचार बाहिरिएको थियो । कुराकानीका क्रममा अर्थमन्त्री शर्माले पुँजी बजारमा देखिएको पछिल्लो परिस्थितिलाई सहज बनाउन आग्रह गरेको उल्लेख गरिएको थियो । उनले कहाँ के सुधार गर्नुपर्ने हो त्यो गरेर पुँजी बजारको समस्या समाधान गर्न गभर्नरलाई भनिएको उल्लेख थियो ।  जवाफमा गभर्नर अधिकारीले आवश्यक प्रक्रिया मिलाई परिस्थिति सहज बनाउन प्रयास गर्ने प्रतिवद्धता जनाउने बताएको खबर आएपछि लगानीकर्ता आशावादी भएका हुन् । यो नै बजार बाउन्स ब्याक हुनुको मुख्य कारण रहेको बताईन्छ । दोस्रो विषय भने नेपाल राष्ट्र बैंकले मार्जिन कर्जाको ब्यबस्था बारे थप प्रष्ट पारेकोले लगानीकर्ताहरु त्यसबाट पनि केहि आशावादी भएको जानकार बताउछन् । मार्जिन कर्जाबारे भ्रम रहेको भन्दै राष्ट्र बैंकले प्रश्नोत्तर शैलीमा यसबारे थप प्रष्ट पारेको हो । राष्ट्र बैंकले आफ्नो वेबसाइटमा धेरै सोधिने प्रश्नमा 'के व्यवसाय गर्नको लागि शेयर धितो राख्न पाइन्छ ? यस्तो कर्जा लिँदा समेत मार्जिन कर्जाको एकल ग्राहक कर्जा सीमा लागू हुन्छ ?' भन्ने प्रश्न राखेको छ  । त्यसको जवाफमा भनिएको छ 'उद्यमी व्यवसायीहरुले उद्योग व्यवसायका लागि अन्य धितो सँगै शेयर समेत धितो राख्न चाहेमा शेयर धितो राखी कर्जा लिन पाइन्छ । बैंक तथा वित्तीय संस्थाले व्यवसायीक प्रयोजनको लागि प्रवाह भएको कर्जाको लागि अन्य सम्पत्ति धितो राखे सरह अतिरिक्त धितोको रुपमा शेयर समेत धितोको रुपमा राख्न सक्छन् । अन्य संस्थाको शेयर किन्ने प्रयोजन देखि बाहेकका व्यावसायिक प्रयोजनको लागि शेयर धितो राखी प्रवाह भएको कर्जामा मार्जिन प्रकृतिको कर्जामा जस्तो एकल ग्राहक कर्जा सीमा (Single Obligor Limit) को रुपमा रहेको एउटा इजाजतपत्रप्राप्त संस्थाबाट अधिकतम रु. ४ करोड र सबै इजाजतपत्र संस्थाबाट अधिकतम रु. १२ करोडको सीमा लागू हुदैन ।' यसले पनि केहि प्रोत्साहन मिलेको बताईन्छ । आज नै पुँजी बजार सुधार संघर्ष समितिले राष्ट्र बैंकका प्रवक्तालाई ज्ञापन पत्र बुझाएको थियो । आज कारोबारमा आएका २२४ कम्पनीका १ करोड ७९ लाख २२ हजार ५ सय ८८ कित्ता शेयर खरिद बिक्रिबाट ९ अर्ब ८२ करोड ६२ लाख २२ हजार ८ सय ६ रुपैयाँ ९० पैसाको कारोबार भएको छ । जस मध्ये अरुण भ्याली हाइड्रोको सबैभन्दा धेरै ४६ करोड ३० लाखको कारोबार भएको छ । त्यस्तै हिमालयन डिस्टिलरीको २६ करोड ८८ लाख , अपर तामाकोशीको २४ करोड ९२ लाख तथा नेशनल हाइड्रोको १९ करोड ९९ लाख बराबरको कारोबार भएको छ । आज कारोबारमा आएका सबै समुहगत सूचक बढेका छन् । जस मध्ये विकास बैंक समुह ९.९२ प्रतिशत, फाइनान्स समुह ९.३४ प्रतिशत र तथा हाइड्रो पावर समुह ९.११ प्रतिशतले बढेको छ । आज कारोबारमा आएका सबै १८५ कम्पनीको मूल्य बढेको छ ।