घरेलु उपज विक्री केन्द्रको भवन रत्ननगरलाई हस्तान्तरण

भदौ २०, चितवन । चितवनको रत्ननगरमा निर्माण गरिएको घरेलु उपज विक्री केन्द्रको भवन आइतवार रत्ननगर नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।  महिला उद्यमीहरुले उत्पादन गरेका घरेलु सामग्री किनबेच गर्ने उद्देश्यले प्रदेश सरकारको लगानीमा घरेलु तथा साना उद्योग कार्यालय चितवनले विक्री केन्द्रको भवन निर्माण गरिएको थियो  । रत्ननगर नगरपालिका वडा नम्बर २ अन्तर्गत तरकारी मण्डी नजिक निर्माण गरिएको सो भवन एक औपचारिक कार्यक्रमको आयोजना गरी नगरपालिकालाई हस्तान्तरण गरिएको हो ।  नगरपालिकाको निगरानीमा सञ्चालन तथा व्यवस्थापन समितिले सो केन्द्र सञ्चालन गर्नेछ । केन्द्र सञ्चालनको लागि डबल श्रेष्ठ अध्यक्ष रहेको समिति समेत बनाइएको छ ।  कार्यक्रममा रत्ननगरका मेयर नारायण वनले जिल्ला विकास समितिका सभापति कृष्णकुमार डल्लाकोटी र घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख यादवनाथ आचार्यको रोहवरमा सञ्चालक तथा व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठलाई विक्री केन्द्र हस्तान्तरण गरेका हुन् ।  मेयर वनले समितिलाई हस्तान्तरण गरेसँगै विधिवत रुपमा केन्द्र सञ्चालनमा आएको छ । सो अवसरमा बोल्दै मेयर वनले स्थानीय स्तरमा उत्पादित कृषि वस्तुहरुको बजार सुनिश्चितता र उचित मूल्यको लागि विक्री केन्द्र उपलब्धिमुलक हुने बताए । ग्रामीण क्षेत्रका किसानहरुलाई व्यवसायिक बनाउने र उनीहरुले उत्पादन गरेका वस्तुहरु केन्द्रमा ल्याएर विक्री गर्ने उद्देश्यले घरेलु उपज विक्री केन्द्र सञ्चालनमा ल्याइएको वनको भनाइ छ  ।  जिल्ला समन्वय समितिका सभापति डल्लाकोटीले महिलाहरुलाई उद्यमी बनाउन विक्री केन्द्रको भवन निर्माण गरिएको बताए । ‘महिलालाई आत्मनिर्भर बनाउने, घरमा सामग्री उत्पादन गर्न प्रोत्सहान गर्ने लक्ष्यका साथ पूर्वी चितवनमै पहिलो विक्री केन्द्र सञ्चालनमा ल्याइएको हो ।’ डल्लाकोटीले भने ।  घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा उपमेयर विमला दुवाडी, रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेल लगायतको सहभागिता रहेको थियो । प्रदेश सरकारको ३० लाखको लगानीमा सो केन्द्रको एक तले भवन निर्माण गरिएको हो ।