अर्थतन्त्रमा सुधारको सङ्केत छ, 'विदेशी भन्ने वित्तिकै राम्रो, नेपाली नराम्रो' भन्ने भ्रम त्यागौ' : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अर्थतन्त्रमा सुधारको सङ्केत देखा परेको बताउनुभएको छ । उहाँले ढुक्क हुने अवस्थामा नपुगेको र चुनौती भने कायम रहेको पनि बताउनुभएको छ ।  प्रधानमन्त्री दाहालले सामूहिक प्रयासबाट मात्रै अर्थतन्त्रको समस्या समाधान गर्न सकिन्छ भन्ने विश्वासका साथ सरकार लागिपरेको उल्लेख गर्नुभयो । ‘गोकर्ण रिसोर्टमा आयोजना गरेको ‘एनसेल बाह्रखरी गल्फ र आर्थिक परिसंवाद’ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अन्तरराष्ट्रिय क्षेत्रमा विकास भएका मूल्यमान्यता, दर्शनको अध्ययनका अलावा नेपाली समाजको नै खास अर्थमा अध्ययन तथा विश्लेषण गरेर नेपाली जनताको दीर्घकालीन हितका लागि लागिपर्नुपर्ने बताउनुभयो । प्रधानमन्त्री दाहालले विचार, सिद्धान्त, राजनीति मूल्य र मान्यताको कुरा हराउँदै गएको उल्लेख गर्नुभयो । उहाँले नेपालमा उपभोक्तावाद र तत्काल नाफा नोक्सानतिर अघि बढ्दा राष्ट्र र आमजनताको हित प्राथमिकतामा नपरेको स्पष्ट पार्नुभयो । देशमा जनता र समाजको हितभन्दा तत्कालीन विषय र नाफा नोक्सान प्राथमिकतामा पर्ने गरेको उहाँको भनाइ थियो ।  प्रधानमन्त्री दाहालले राजनीतिमा पनि आवेग र सेन्टिमेन्टतर्फ विषय जाने हो कि भन्ने खतरा देखापरेको तथ्य पेस गर्नुभयो । नेपालमा विकसित भएको मूल्य मान्यतातर्फ नै केन्द्रित गर्नुपर्नेमा विदेशमा स्थापित भएका मूल्य र मान्यतालाई मात्रै मान्नुपर्छ भन्ने सोचले काम गरिरहेको उहाँको भनाइ थियो । विदेशी भन्नेबित्तिकै राम्रो, नेपाली नराम्रो भन्ने मानसिकता त्यागौँ प्रधानमन्त्री दाहालले विदेश र विदेशी भन्नेबित्तिकै राम्रो र नेपाली नराम्रो भन्ने मानसिकता त्यागेर मात्र राष्ट्रिय अर्थतन्त्रको निर्माण र समृद्ध नेपाल सम्भव हुने बताउनुभयो । विदेशका अनुभव, शिक्षा र दृष्टान्तलाई बढी महत्व दिएर नेपाली विशेषता र मौलिकता नभुल्न सहभागीलाई उहाँले आग्रह गर्नुभयो ।  प्रधानमन्त्री दाहालले भन्नुभयो, “हामीले विश्व पढ्नैपर्छ, विश्वका अनुभव र दृष्टान्त पनि पढ्नुपर्छ । तर त्यसभन्दा बढी नेपालको इतिहास पढ्नुपर्दछ । हाम्रो अर्थराजनीतिक चरित्र, हाम्रो विशेषता र मौलिकता पढ्नुपर्छ । हामीकहाँ विदेशी भन्नेबित्तिकै राम्रो, नेपाली चाहिँ नराम्रो भन्ने मानसिकता पनि देखिन्छ । यसले राष्ट्रिय अर्थतन्त्र निर्माण, समृद्धि र स्वाधीनतालाई सहयोग गर्दैन । विश्वका मोडेल र अनुभव पढ्दै गर्दा हामीले हाम्रो आफ्नोपन पढौँ र सोहीअनुरूप नीति तय गरौँ ।” अर्थनीति र अर्थतन्त्रबारे विश्वमा आआफ्नै मोडेल रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो– “नवउदारवाद र समाजवादी अर्थतन्त्रका आआफ्नै चरित्र र विशेषता छन् । तर त्यसलाई हुबहु अवलम्बन गरेर हाम्रो अर्थनीति बनाउन सकिँदैन ।” प्रधानमन्त्री दाहालले हाम्रो अर्थराजनीति, उत्पादन पद्धति अरूको भन्दा मौलिक रहेको उल्लेख गर्दै यसमा धेरै व्यक्ति अल्मलिएको बताउनुभयो । हाम्रो संविधानले निजी, साझेदारी र सहकारीको तीनखम्बे अर्थनीति अवलम्बन गरेकाले विश्वका अरू मोडेलसँग हुबहु नमिल्ने उहाँले बताउनुभयो । सङ्घीय लोकतान्त्रिक गणतन्त्रभित्र राष्ट्र निर्माण र समृद्धिको मार्गचित्र स्पष्टतापूर्वक राखिएको प्रधानमन्त्री दाहालले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले तीन तहको सरकारको अवधारणा अभ्यास गरिरहेका छौँ । यसभित्र निकै ठूलो अर्थ छ । हामीले केन्द्रिकृत मानसिकता भत्काएर अवसर र विकासलाई तलसम्म लैजाने सङ्कल्प गरेका छौँ । तर हाम्रो मानसिकता चाहेजस्तो बदलिएको छैन । हाम्रो कर्मचारीतन्त्र, सुरक्षा संयन्त्र पुरानो सोचबाट माथि उठ्न सकेको देखिएको छैन । सङ्घीयता र परिवर्तनको आत्मसातीकरण गर्न सकेको देखिँदैन । यसमा अझै मेहनत गर्न आवश्यक छ ।” सिंहदरबार केन्द्रित मानसिकतामा परिवर्तन भएन आमजनतालाई आर्थिक विकास र सामाजिक मूल्य र मान्यतामा स्थापित गर्ने सोचका साथ तीन तहको सरकार स्थापना गरिएको भए पनि अझै पनि सिंहदरबार केन्द्रित सरकारको मानसिकता परिवर्तन हुन नसकेको प्रधानमन्त्री दाहाललले बताउनुभयो । देश सङ्घीयतामा गए पनि सिंहदरबारको मानसिकतामा परिवर्तन आउन नसकेको उहाँले उल्लेख गर्नुभयो । “आमजनतालाई आर्थिक र राजनीतिक क्रियाकलापमा कसरी संलग्न गराउन सकिन्छ भनेर तीन तहको सरकार बनाइएको हो । तर, अहिले पनि हामी सिंहदरबारको सोचबाट मुक्त हुन सकेका छैनौँ”, प्रधानमन्त्री दाहालले भन्नुभयो । नेपालको संविधान समाजवाद र पुँजीवादका राम्रा कुरा समावेश गरेर नेपालको संविधान निर्माण भएको उहाँले स्पष्ट पार्नुभयो । नवउदारवाद र समाजवादका कुरा गर्दागर्दै पनि आम नेपालीको सोचमा अझै स्पष्टताको अभाव रहेको उहाँले बताउनुभयो । नेपालको आर्थिक, सामाजिक, दार्शनिक अध्ययन नगरी विदेशी नीति पछ्याउने क्रम चलेको भन्दै प्रधानमन्त्री दाहालले यस्तो सोच उचित नहुने बताउनुभयो । अन्तर्राष्ट्रिय क्षेत्रमा विकास भएका मान्यताका अध्ययन गर्नै पर्ने भए पनि नेपालका लागि नेपालकै नीति र सोचलाई प्राथमिकतामा राख्नुपर्ने उहाँको भनाइ थियो । निजी क्षेत्रलाई सम्मान गरेर अगाडि जान सरकार तयार रहेको भए पनि हाम्रो सोचमा परिवर्तन हुन नसकेको प्रधानमन्त्री दाहालले बताउनुभयो । आफूले गरेको निरन्तर प्रयासका बाबजुद राजस्व सङ्कलनमा वृद्धि भएको, वैदेशिक मुद्राको सञ्चितीमा वृद्धि हुँदै गएको, ब्याजदर क्रमशः ओरालो लाग्दै गएको तथ्य उहाँले पेस गर्नुभयो । प्रधानमन्त्री दाहालले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा केही सुधारका महत्वपूर्ण एजेण्डा स्थापित गरेर जाने विश्वास दिलाउनुभयो । उहाँले  निजी क्षेत्रको हित र चासोविपरीत गएर कुनै पनि ऐन तथा कानुन नबनाउने विश्वास दिलाउनुभयो । त्यसअघि प्रधानमन्त्री दाहालले गल्फ प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो । रासस