आगामी केही सातासम्म धेरै देशका लागि ओमिक्रोन चुनौतीपूर्ण : डब्ल्यूएचओ महानिर्देशक

माघ ५, जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले आगामी केही सातासम्म धेरै देशका लागि ओमिक्रोन चुनौतीपूर्ण रहने बताएका छन् ।  नियमित प्रेस ब्रिफिङमा बोल्दै उनले विश्वका धेरै मानिसहरू अहिले पनि खोपको पहुँचभन्दा बाहिरै रहेको अवस्थामा यसलाई बेवास्ता गर्दा धेरैले ज्यान गुमाउने जोखिम रहको पनि बताएका छन् । कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनले यसअघिको भेरिएन्ट डेल्टाभन्दा कम जटिल प्रकारको कोभिड गराउँछ भनेर बेवास्ता गर्न नहुने कुरालाई उनले फेरि पनि दोहोर्‍याएका छन् ।  उनले भने, ‘ओमिक्रोनका कारण मानिसहरु अस्पताल भर्ना भइरहेका छन् र मृत्यु पनि भइरहेको छ । यो पहिलेको भेरिएन्टभन्दा कम जटिल प्रकारको संक्रमण गराए पनि यसका कारण स्वास्थ्य पूर्वाधारमा ठूलो दबाब सृजना गरिरहेको छ ।’ साथै उनले नयाँ भेरिएन्टहरु फेरि पनि देखिन सक्ने भन्दै यसतर्फ ध्यान दिन आग्रह गरेका छन् । उनका अनुसार विश्वभर नै भाइरस अत्यन्तै तीव्र गतिमा फैलिरहेकोछ र यसबाट धेरै देशका लागि आगामी केही साता निकै जोखिमयुक्त रहेको छ । उक्त अवधिमा ती देशका स्वास्थ्यकर्मी र स्वास्थ्य प्रणालीमा ठूलै दबाब पर्ने उनले बताएका छन् । ‘ओमिक्रोनको फैलिने क्रमलाई रोक्नका लागि म सबैलाई आ- आफ्नो स्थानबाट सकेको मद्दत गर्न अपिल गर्छु’, उनले भनेका छन्, ‘ओमिक्रोनबाट बच्ने सहज अस्त्र भनेकै खोप हो । त्यसैले खोप नलगाएकाहरुलाई म खोप लगाउनका लागि पनि आग्रह गर्छु ।’ उनले ओमिक्रोनको प्रकोपका कारण महामारी निकट भविष्यमा नै अन्त्य हुने लक्षण नदेखिएको बताउँदै सम्भवत: नयाँ भेरिएन्टहरु फेरि पनि देखिन सक्ने चेतावनी दिए । उनले ओमिक्रोन र अन्य भेरिएन्टविरुद्ध अझ बढी प्रभावकारी हुने खोपको विकास भइरहेको पनि बताएका छन् । एजेन्सी

सम्बन्धित सामग्री