सुगम जिल्लामा पनि अझै चलेन सार्वजनिक यातायात

सुगम जिल्ला भए पनि त्यहाँको एक पालिकाका नागरिकले अझै सार्वजनिक यातायात सेवा लिन पाएका छैनन् भन्दा पत्यार नलाग्न सक्छ ! हो, कञ्चनपुरको लालझाडी गाउँपालिकावासीले दशकौँदेखि यस्तो समस्या भोग्दै आएका छन् । स्थानीय जनप्रतिनिधि आएपछि केही वडामा छिटपुटरूपमा सडक कालोपत्र भए पनि गाउँपालिकाका अधिकांश सडक कच्ची छन् । छवटा वडा रहेको गाउँपालिका कञ्चनपुरको भौगोलिकरूपमा निकै विकट मानिन्छ । “चालु आर्थिक वर्षमा विभिन्न वडामा गरी करिब साढे तीन किलोमिटर सडक कालोपत्र गर्ने योजनाका साथ अघि बढेका छौँ”, लालझाडी गाउँपालिकाका सबइञ्जीनियर सन्तोषप्रसाद जोशीले भन्नुभयो, “अहिलेसम्म यहाँ चान्देउ–बल्मी क्षेत्र र अन्यमा सडक कालोपत्र छ ।” उहाँले स्थानीय जनप्रतिनिधि आइसकेपछि पालिकाका सबै वडाका मुख्य तथा शाखा सडक ग्राभेल भएको जानकारी दिनुभयो । “पालिकाको पनि आफ्नो बजेट छ”, उहाँले भन्नुभयो, “भौतिक पूर्वाधारदेखि अन्य विकासमा सङ्घ र प्रदेश सरकारको बजेटले पनि काम भइरहेको छ ।” बीच भागमा पर्ने दोदा नदीका कारण पालिका दुई भागमा विभाजित रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रसिंह रावलले जानकारी दिनुभयो ।