‘फिल्म’ सुटिङका नाममा ‘मानव तस्करी’: जब नर्वेजियन दूतावासले ‘इमेल’ पठायो...

विदेशमा चलचित्र सुटिङको नाममा नेपालीहरुलाई नर्वे लैजान नेपाल पर्यटन बोर्डको कागजात दुरुपयोग भएको पाईएको छ । चलचित्र सुटिङ गर्न भन्दै कलाकारसहित १४ जना नेपालीलाई नर्वे लैजान प्रयोग नक्कली कागजात पेश गरिएको खुलेको हो । चलचित्र सुटिङका लागि कलाकार नर्वे जानुपर्ने भयो भन्दै भिसा मागका लागि भारतस्थित नर्वेजियन दूतावासमा नेपाल पर्यटन बोर्डको तर्फबाट पेश गरिएको भनिएका कागजात किर्ते भएको खुलेको हो ।यी हुन् भिसा माग गरिएका १४ जनानेपालमा नर्वेको दूतावास छैन । नर्वे जानका लागि भारतमा रहेको नर्वेजियन दूतावासमार्फत प्रक्रिया पूरा गर्नुपर्छ । भिसा माग गरिएका १४ जनाको सूचीमा अभिनेत्री केकी अधिकारी र अभिनेता हरिश (आर्यन) सिग्देलको नाम पनि छ ।दूतावासमा बुझाईएका नक्कली कागजातमा ‘ब्लु बर्ड एचडी’ नामक चलचित्र बनाउने कम्पनीमार्फत ‘तिम्रो नजर’ नामक चलचित्रको सुटिङका लागि भिसा माग गरिएको छ  । भिसा माग गरिएका मध्ये केकी अधिकारी, आर्यन सिग्देल, भिडियो निर्देशक दीपकप्रसाद आचार्य र निर्माता रोशन पराजुली मात्रै परिचित नाम हो । बाँकी, बिक्रम बस्नेत, रीता सापकोटा (खानाल), दिपेन्द्र भुजेल, सरोज गुरुङ, मोजाहिद अन्सारी, भक्तबहादुर राना मगर, राजु गुरुङ, तेस बहादुर रन्तुवा, लक्षमण आचार्य र मिनराज गुरुङ कतै चिनिएका नाम होईनन् ।तर, यिनीहरुको नाममा पनि भिसा माग गरिएको छ । निर्माता रोशन पराजुलीकै कम्पनीमार्फत भिसा माग गरिएको छ ।यसरी खुल्यो पोलभारतस्थित नर्वेजियन दूतावासमा कागजात पेश भएको विषयमा पर्यटन बोर्ड जानकार नरहेको तर, उताबाट इमेल आएपछि रिजेक्ट गराईएको बोर्डका सीईओ डा. धनन्जय रेग्मी बताउँछन् । उनका अनुसार भारतस्थित नर्वेजियन दूतावासबाट बुधबार साँझ पर्यटन बोर्डमा ‘त्यहाँबाट यी यी नाम गरेका १४ जना व्यक्तिलाई चलचित्र सुटिङका लागि नर्वे जान भिसा उपलब्ध गराईदिनु भनेर सिफारिस सहितको कागजात आएको छ, साँचो हो की होइन’ भनेर इमेल आयो । इमेल आएपछि आफूहरु अचम्ममा परेको सीईओ डा. रेग्मीले बिजपाटीलाई बताए । ‘यस्तो यस्तो कागजात आएको छ, यी यी व्यक्तिलाई भिसा माग गरिएको छ भनेर उताबाट इमेल आएपछि त हामी छक्क पर्यौ, हामीले कसैको नाममा त्यसरी कागज पेश गरेकै थिएनौँ’ रेग्मीले भने, ‘लगत्तै हामीले यहाँबाट कसैको नाममा भिसा माग गरेका छैनौँ भनेर इमेलको उत्तर पठायौँ, सँगै प्रोसेस रिजेक्ट गर्न पनि भनिदियौँ, अहिले रिजेक्ट भईसक्यो ।’उनले पर्यटन बोर्डको लेटर हेड र आफ्नो हस्ताक्षरसमेत किर्ते गरेर कागजात बुझाईएको पाईएको बताएका छन् । ‘मेरो हस्ताक्षर नै किर्ते गरिएको छ, हाम्रो बोर्डको लेटर हेडमै फरक चलानी राखेर पठाईएको छ’ सीईओ रेग्मीले भने, ‘कागजात किर्ते गरेर चलिचित्र सुटिङका नाममा मानव तस्करी गर्न खोजिएको हो जस्तो लागेको छ । विगतमा पनि यस्तो हुन्थ्यो की, यसमा बोर्डकै कर्मचारीको पनि मिलेमतो छ की भनेर मैले सीआईबीलाई पनि अनुसन्धानका लागि अनुरोध गरेको छु ।’केकीको आपत्तिभिसा माग गर्दा मुख्य महिला कलाकार भनिएकी केकी अधिकारीले ‘तिम्रो नजर’ नामको चलचित्रमा अभिनय गर्ने सम्बन्धमा कुनै कम्पनीसँग कुनै पनि सम्झौता नभएको भन्दै आपत्ति जनाएकी छिन् । ‘विभिन्न संचार माध्यममा प्रकाशित समाचार अनुसार ‘ब्लु बर्ड एच डि’ नामक चलचित्र निर्माण कम्पनीले ‘तिम्रो नजर’ नाम गरिएको चलचित्र निर्माण गर्ने बहानामा कलाकारको रूपमा मेरो संलग्नता देखाई सरकारी कागजपत्र समेतको दुरुपयोग गरेको भन्ने समाचारप्रति सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराउन चाहन्छु। मैले त्यस्तो नाम गरेको कुनै चलचित्र निर्माण कम्पनीसंग कुनै पनि नामको चलचित्रमा सम्झौता गरेकी छैन । र यस किसिमको अवान्छित गतिविधिबारे कुनै पूर्व जानकारी पनि थिएन। साथै मेरो व्यक्तिगत विवरण समेटिएको सरकारी कागज पत्र, हस्ताक्षर र नामको दुरुपयोग गरि गैरकानूनी कृयाकलाप गरिएको रहेछ भने दोषी उपर कडा कारवाही गर्न सम्बन्धित निकायलाई निवेदन गर्न चाहन्छु’ केकीले लेखेकी छिन् । आर्यनले पनि पर्यटन बोर्डबाट फोन आएपछि आफू रनभुल्लमा परेको प्रतिक्रिया दिएका छन् । उनले म्युजिक भिडियो सुटिङका लागि जानेपछि आफूले पासपोर्ट दिएको तर, अहिले धन्दा अर्कै रहेको खुलेपछि झस्किएको बताएका छन् । केकी अधिकारी र आर्यन सिग्देल जस्ता चलेका कलाकारको नाम देखाएर उनीहरुसँगै जाने भनिएका व्यक्तिहरुलाई उतै छोड्ने गरी निर्माता भनिएका रोशन पराजुलीले त्यसरी सँगै जान भिसा माग गरिएका अरुसँग मोटो रकम असुलेको हुन सक्ने पर्यटन बोर्ड स्रोत बताउँछ । यस विषयमा सीआईबीले अनुसन्धान गरेपछि वास्तविकता सार्वजनिक हुनेछ ।