विराटनगर । उद्योग संगठन मोरङले नवीन योजनासहित छनोट गरेका नवउद्यमीका लागि चारदिने व्यावसायिक रूपान्तरण कार्यक्रम शुक्रवारदेखि शुरू भएको छ । संगठनको स्टार्टअप एण्ड इन्नोभेशन कार्यक्रम अन्तर्गत छनोट भएका २४ स्टार्टअप व्यवसायीहरूको समूह यसमा सहभागी छ ।
शुभारम्म कार्यक्रममा उद्योग संगठन मोरङको स्टार्टअप एण्ड इन्नोभेशन समितिका संयोजक सुरेन्द्र गोल्छाले देशका युवा वर्गले आफ्नो सोचलाई व्यासायिकतामा रूपान्तरण नगरेसम्म देशले आर्थिक समृद्धि हासिल गर्न नसक्ने बताए । उद्योग संगठन मोरङले नयाँ उद्यमशीलता विकासका सन्दर्भमा प्रारम्भ गरेको प्रयासलाई सफल बनाउन उनले आग्रह गरे । चारदिने कार्यक्रममार्फत प्रदान गरिने ज्ञान र शीपले स्टार्टअप व्यवसायीको दक्षता अभिवृद्धि गरिने उनको भनाइ छ । कार्यक्रमको अन्तिम दिन हाट बजारको आयोजना गरी स्टार्टअपहरूको सम्बन्धमा जानकारी दिइने उनले बताए ।
कार्यक्रमको सहजीकरण साझेदार संस्था अन्तरप्रेरणाका प्रमुख कार्यकारी अधिकृत तथा चारदिने बूट क्याम्पका स्रोत व्यक्ति निरज खनालले व्यवसाय प्रारम्भ गर्दा व्यवसायीले आफ्नो व्यवसायको भावी लक्ष्य निर्धारण गर्नु अत्यावश्यक हुने बताए । उक्त कार्यक्रममा व्यापारलाई व्यावसायिक मोडलका रूपमा विकास गर्न बजार व्यवस्थापन, कर प्रशासन, वित्तीय स्रोत व्यवस्थापन तथा परिचालन, मानव संसाधन तथा जिन्सी व्यवस्थापन लगायत विषयमा सैद्धान्तिक ज्ञान प्रदान गरिने उनले बताए ।
कार्यक्रमको फोकल पर्सन प्रीति कोइराला भट्टराईले प्रदेश नं १ का हिमाल, पहाड र तराई क्षेत्रबाट छनोट भएका कृषि, जडीबुटी, सेवा, उत्पादन, अनलाइन व्यवसाय लगायतका स्र्टाटअप व्यवसायीको सहभागिता रहेको बताइन् । बूट क्याम्पले छनोट भएका स्टार्टअको सोच र अवधारणालाई वास्तविक व्यवसायमा परिवर्तन गरी लगानीमैत्री बनाउन सघाउने उनको भनाइ छ । कार्यक्रममा स्टार्टअप व्ययवसायीका अतिरिक्त स्टार्टअप एण्ड इन्नोभेशन समितिका सदस्यहरू, साझेदार संस्थाका प्रतिनिधिका साथै परामर्शदाताहरू समेत सहभागी छन् ।