मकै उत्पादक किसानलाई अनुदानमा कृषि सामग्री

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैडाकोट नगरपालिकाका मकै उत्पादक किसानका लागि अनुदानमा कृषि सामग्री वितरण गरिएको छ । नगरपालिकाको मकै उत्पादन तथा प्रवद्र्धन कार्यक्रमअन्तर्गत कृषि शाखाले उपलब्ध गराएको करिब ३६ लाख अनुदान रकममा किसानको ५० प्रतिशत सहभागिता थप गरी विनायक कृषि सहकारी संस्थाले कृषि सामग्री उपलब्ध गराएको हो ।      नगरप्रमुख छत्रराज पौडेलले मकै किसानलाई आधुनिक कृषि औजार वितरण गरे । नगरपालिकाको ५० प्रतिशत र कृषकको ५० प्रतिशत लागत रहने गरी खरिद गरिएका सामग्री किसानलाई हस्तान्तरण गरिएको सहकारीका अध्यक्ष तिलक कँडेलले जानकारी दिए । कँडेलका अनुसार मकै गोड्ने र धान काट्ने औजार २० जनालाई, मकै पिस्ने औजार १५ जनालाई र इलेक्ट्रिक स्पेयर १०० जनालाई वितरण गरिएको छ । किसानको हित र कृषि उत्पादन वृद्धिमा सहयोग पुग्ने गरी सहकारीले सात बोरिङलाई आवश्यक पर्ने एक हजार ४०० मिटर पाइप, बीउ र मल पनि उपलब्ध गराएको कँडेलले बताए । नगरपालिकाभित्रका व्यक्ति कृषि कर्म गर्छु भनेर नगरपालिकामा कार्ययोजना लिएर आएको खण्डमा आवश्यक सहयोग गर्न तयार रहेको उनको भनाइ छ । रासस