चितवन (अस) । चितवनमा सातौं कृषि गणना २०७८ को तयारी सुरु गरिएको छ । केन्द्रीय तथ्यांक विभागको तालिकाअनुसार मंगलबारबाट जिल्लामा जिल्ला कृषि गणना कार्यालयको स्थापना गरिएको छ । देशलाई नीति बनाउन सहज र कृषिको अवस्थाबारे जानकारी पाउन कृषि गणना गर्न लागिएको हो ।
‘समग्र देशको कृषि क्षेत्रको तथ्यांक उपलब्ध गराउने र नीति निर्मातालाई सहयोग पुर्याउने उद्देश्य हो’, कार्यालयका तथ्यांक अधिकृत यज्ञमूर्ति भण्डारीले भने, ‘यसले देशको कृषि अवस्था र अनुसन्धानकर्तालाई समेत सहयोग पुर्याउनेछ ।’
‘कृषि गणनाको सार, कृषि योजनाको पूर्वाधार’ नारासहित संघीयतापछिको पहिलो कृषि गणना तयारीअनुसार तथ्यांक कार्यालय चितवनकोे भवनमै कार्यालय स्थापना गरिएको तथ्यांक अधिकृत भण्डारीले जानकारी दिए । उनका अनुसार तालिकाबमोजिम चैत ९ गते जिल्लामा यस क्षेत्रका सरोकारवाला निकाय, विज्ञ, कृषि शिक्षण संस्था तथा कृषकसहितको सचेतना कार्यक्रम गर्न लागिएको छ ।
केन्द्रीय तथ्यांक विभागको तालिकाअनुसार चितवनमा कृषि गणनाका लागि ६४ जना गणक र १६ जना सुपरिक्षक गरी ८० जना खटिनेछन् । गणनाका लागि चैत २५ देखि वैशाख २ गतेसम्म तालिम हुने र वैशाख ६ देखि जेठ १९ सम्म आर्थिक गणना हुने भण्डारीले बताए । आर्थिक गणनामा लगत १ अनुसार केन्द्रीय तथ्यांकले वैज्ञानिकीकरण विधिबाट गणना क्षेत्रबाट जिल्लामा १७९ गणना क्षेत्र तोकेको छ ।
यो क्षेत्रमा गणकले सूचीकरणको काम गर्ने र त्यसपछि सुपरिवेक्षकले कृषक घरपरिवारको गणनाको छनोट गर्नेछन् । त्यसपछि लगत २ मा कृषक घरपरिवारले प्रश्नावली भर्नुपर्नेछ ।
प्रश्नावलीमा परिचयात्मक खण्ड, कित्ताअनुसार बालीको क्षेत्रफल, जग्गाको उपयोग र उपभोग, स्थायी र अस्थायी बाली, कृषि, वन र माटो परीक्षण, सिँचाइका साथै पशुपक्षीको गणना गरिने उनले जानकारी दिए । लगत ३ मा सामुदायिक प्रश्नावली रहनेछन् । तथ्यांकपछि कृषि क्षेत्रले देशको कुल गार्हस्थ्य उत्पादनमा दिने योगदानको परिणाम आउनेछ । २०१८ सालदेखि हरेक १०/१० वर्षमा कृषि गणना गरिन्छ । संघीयतापछिको यो पहिलो गणना हो । गणना कार्यालय चैत १ देखि ०७९ जेठ मसान्तसम्म रहने उनले बताए ।