गाउँ फर्कनेको चापले अरनिको राजमार्गमा जाम

काठमाडौं । शुक्रवार हुने स्थानीय तहको निर्वाचनका लागि मतदान गर्न गाउँ फर्कनेको भीडका कारण अरनिको राजमार्ग अस्तव्यस्त बनेको छ । मतदानका लागि बुधवार बिहानैदेखि घर फर्कनेको चापका कारण राजमार्गमा जाम लागेको हो । बुधवारदेखि दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारीसाधनको लर्को लागेको छ । अरनिको राजमार्ग खण्डअन्तर्गत भक्तपुरको सल्लाघारीदेखि काभ्रे धुलिखेलसम्मै घण्टौं सडक जाम भएको छ । बिहानैदेखि बस स्टेसनमा बस चढ्न प्रतीक्षामा बसेकाको घुइँचो देखिन्थ्यो । साना तथा ठूला गाडी रिजर्भ गरेर गाउँ फर्कने र सार्वजनिक यातायातमा गाउँ फर्कने सवारीसाधनको समेत एकै पटक चाप बढेपछि अरनिको राजमार्ग घण्टौं जाम भएको हो । महानगरीय प्रहरी वृत्त जगातीका अनुसार बुधवार बिहान ४ बजेदेखि नै भक्तपुर हुँदै पूर्वतर्फ जाने यातायातका साधनको चाप ह्वात्तै बढेको हो । बुधवार दिनभरि नै सडक जाम हुँदा ट्राफिक व्यवस्थापनमा समस्या परेको प्रहरीको भनाइ छ । धुलिखेल अस्पताल जान थिमिबाट बिहान ८ बजे बस चढेका यात्रु ११ बजे मात्रै पुगेका थिए । सो सडक खण्डमा दुई घण्टा जाममा परेको थिमि राधेराधेकी सन्तोषी खड्काले बताइन् । मोटरसाइकल, माइक्रोबस, सुमो र ठूला बस गरी बुधवार मात्रै एक हजारभन्दा बढी यातायातका साधन पूर्वतर्फ गएको प्रहरीको भनाइ छ । काभ्रेबाट भक्तपुरतर्फ फर्किंदा समस्या नभए पनि काभ्रेतर्फ जाने सडक जाम भएपछि च्यामासिंह, ताथली नाला हुँदै बनेपा निस्कने गरी सवारीसाधनलाई डाइभर्सन गरिएको छ ।  रासस

सम्बन्धित सामग्री

गाउँ फर्कनेको चाप बढ्दो

भक्तपुर-भोलि शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि मतदान गर्न गाउँ फर्कनेको भीडका कारण अरनिको राजमार्ग खण्ड अस्तव्यस्त बनेको छ । मतदानका लागि बुधबार बिहानैदेखि घर फर्कनेको दुई तथा चारपांग्रे सवारीसाधनको लर्को लागेपछि अरनिको राजमार्ग खण्डअन्तर्गत भक्तपुरको सल्लाघारीदेखि काभ्रे धुलिखेलसम्मै घण्टौँ सडक जाम भएको थियो ।बिहानैदेखि बस स्टेसनमा बस चढ्न प्रतीक्षामा बसेकाको घुइँचो देखिन्थ्यो भने साना […]