चामलको मूल्य बढाउन थाईल्यान्ड र भियतनामको कार्टेलिङ, नेपालमा कति पुग्ला भाउ ?

बैंकक (थाइल्यान्ड) । विश्वका दुई ठूला धान उत्पादक देशहरुमध्ये एक थाइल्यान्ड र भियतनामले चामलको भाउ बढाउन खोजिरहेका छन् । यी दुई देशहरुले मिलेर भाउ बढाउन खोजिरहेको भन्दै पछिल्ला केही दिन यता समाचारहरु आइरहेका छन् । विश्व बजारमा आफ्नो मोलमलाई क्षमता बढाउन र उत्पादन लागतमा भइरहेको वृद्धि कम गर्न गएको शुक्रवार थाइ सरकारले मूल्य बढाउनु पर्ने बताएको थियो । यसबारे थाइल्यान्ड सरकारका शीर्ष अधिकारीहरुले मुखै खोलेको भएपनि भियतनामले यस्तो योजनाबारे छलफल भए नभएको बताइसकेको छैन ।  थाइल्यान्ड र भियतनाम भारतपछि विश्वको दोस्रोे र तेस्रो ठूलो चामल निर्यातकर्ता हुन् । पछिल्लो समय युक्रेनमाथि रुसले आक्रमण गरेयता विश्व बजारमा गहुँको भाउ छोइ नसक्नु भएको छ । यस्तोमा चामलको पनि भाउ बढ्यो भने विश्वमा करोडौं मानिसहरुलाई हात मुख जोर्न झनै धौं धौं हुनेछ । थाइल्यान्डको चामल निर्यातकर्ताहरुको संगठनका अध्यक्ष चूकियात ओफास्वोङ्सीले भने यस मामिलाबारे सरकारले आफ्नो संगठनसँग छलफल नगरेको बताएका छन् ।  सरकारले राम्रोसँग छलफल, विचार नै नगरीकन भाउ बढाउने कुरा गरेको उनको भनाइ छ । थाईल्यान्ड र भियतनाम दुबैको निर्यात जोड्दा पनि भारतको निर्यातलाई उछिन्न नसक्ने र भाउ बढाएमा क्रेताहरु प्रतिस्पर्धी विक्रेताकहाँ लाग्ने भएकोले भारतलाई फाइदा हुने चूकियातले बताएका छन् । विश्वमा खाद्य अनिश्चित उत्पन्न भएको समयमा  भाउ बढाउनु अनुचित हुने भियतनामका खाद्य संगठनका प्रमुखले गएको हप्ता बताएका थिए ।  विश्वको कूल चामल आपूर्तिमा भारतको अनुपात ४० प्रतिशत छ । अमेरिकी डलरको तुलनामा भारतीय रुपयाको भाउ  घटेको र शीर्ष निर्यातकर्ता देशहरुमा पर्याप्त आपूर्तिको अवस्थाबीच गत हप्ता भारतमा चामलको भाउ पाँच वर्ष यताकै न्यून स्तरमा ओर्लिएको थियो । भारतले  पछिल्लो समय चिनी, गहुँको निर्यातमा सीमा तोकेको भएपनि चामलको निर्यात सीमित बनाउने योजना नल्याएको अधिकारीहरुले बताएका छन् ।  ५ प्रतिशत टुक्रिएको भारतीय चामल भियतनामको सोही आलको चामल भन्दा कम्तिमा ५० डलर सस्तो छ, थाइल्यान्डको भन्दा चाँहि सय डलर सस्तो छ । भारतले निर्यात नियन्त्रण गर्यो भने थाइल्यानड र भियतनामले कार्टेलिङ नै नगरेपनि विश्व भर चामलको भाउ बढ्ने छ । नेपालमा भने भारतले चामलको मूल्य वृद्धि वा निर्यातमा नियन्त्रण नगरेसम्म कमै मात्र असर पर्ने विश्लेषण गरिएको छ । विश्वको कूल चामल उत्पादनमा भियतनाम र थाइल्यान्डको अनुपात १० प्रतिशत छ भने विश्वव्यापी निर्यातमा यो दर २६ प्रतिशत भएको अमेरिकी कृषि मन्त्रालयको तथ्यांकले देखाएको छ । यी दुई देशले मूल्य बढाएमा फिलिपिन्स मारमा पर्ने देखिन्छ । फिलिपिन्स यी दुई देशमा उत्पादित चामलको सबैभन्दा ठूलो क्रेता हो । चीन विश्वको सबैभन्दा ठूलो चामल आयातकर्ता हो । दोेस्रो स्थानमा फिलिपिन्स छ भने नाइजेरिया तेस्रो ठूलो आयातकर्ता हो ।  अहिले विश्व बजारमा चामलको भाउ सन् २००८ को कीर्तिमानी स्तरभन्दा निकै तल छ । युक्रेनी संकटयता विश्वभर खाद्यान्न संकट खराब हुन नदिन मद्दत गरिरहेको अन्न चामल नै हो । युक्रेनी संकटयता गहुँ र मकैको भाउ आकाशिएको छ । पर्याप्त उत्पादन र पर्याप्त सञ्चितिका कारण चामलको भाउ भने स्थीर छ । यस वर्ष विश्वमा यस अघि कहिले नदेखिएको स्तरमा धान फल्ने अनुमान गरिएको छ । एजेन्सी