कोरोनाभाइरसबाट हुने कोभिड–१९ रोगको उद्गमस्थल मानिएको चीनको वुहानमा ७६ दिनमा लकडाउन खोलिए पनि नेपालमा भने ७७ दिन पूरा भइसक्दा पनि लकडाउन खोल्ने कि नखोल्ने भन्नेमा बहस र विवाद जारी छ । विश्वव्यापीकरणको यो सुनौलो समयमा वुहानले कसरी कोरोना नियन्त्रणमा लियो र नेपालले त्यसबाट के सिक्नुपर्छ भन्ने चाहना हुने हो भने त्यो असम्भव छैन । नेपालस्थित चिनियाँ दूतावास र चीनस्थित नेपाली दूतावासले यसको सहजीकरण गर्न सक्थे र नेपालले त्यसबाट सिकेर त्योभन्दा पनि कम समयमै यहाँको व्यवस्थापन गर्न सक्दथ्यो । दुर्भाग्य यो छ कि चीनबाट सिक्ने नभइ चीनमा रहेका र तुलनात्मक रूपमा सक्षम र सवल मानिएका राजदूतलाई कुसमयमा फिर्ता बोलाएर रातारात फेर्ने काममा सरकार उद्यत देखियो ।