नेपाल सिलिन्डरको क्षमता ६ लाख थान गर्ने तयारी

पञ्चकन्या ग्रुप अन्तर्गतको नेपाल सिलिन्डर प्रालिले खाना पकाउने एलपी (लिक्विड पेट्रोलियम) ग्यास भर्ने सिलिन्डरको उत्पादन क्षमता दोब्बर बढाएर वार्षिक ६ लाख पुर्‍याउने तयारी गरेको छ । सोहीअनुरूप गत हप्तादेखि सिलिन्डरको उत्पादन दैनिक ८ सय बनाएको छ । यसअघि कम्पनीले दैनिक चार सयवटा सिलिन्डर उत्पादन गर्दै आएको थियो । ‘दुई महिनाभित्र कारखाना दुई सिफ्टमा (दैनिक १६ घण्टा ) सञ्चालन हुन्छ । त्यसपछि दैनिक १६ सय सिलिन्डर उत्पादन हुनेछ,’ कम्पनीका निर्देशक मुकुलमणि दाहालले बताए । करीब रू. २० करोड लगानीमा अमलेखगन्जमा कारखाना स्थापना गरी नेपाल सिलिन्डरले ६ महिनाअघिबाट सिलिन्डर उत्पादन सुुरु गरेको हो । यसले हाल दैनिक ८ घण्टा सिलिन्डर उत्पादन गर्दै आएको छ । अर्को महिनादेखि दैनिक दुई सिफ्टमा काम हुने निर्देशक दाहालले बताए । दुई सिफ्ट सञ्चालन भएपछि यसले दैनिक १६ सय ग्यास सिलिन्डर उत्पादन गर्नेछ । यसपछि नेपाल सिलिन्डर संख्याको हिसाबले एलपी ग्यास भर्ने सिलिन्डर उत्पादन गर्ने सबैभन्दा ठूलो स्वदेशी कम्पनी हुनेछ । नेपालमा अहिले एरोटेक र गृहलक्ष्मीले पनि एलपी ग्यास भर्ने सिलिन्डिर उत्पादन गर्दै आएका छन् । नेपालमै सिलिन्डर उत्पादन गर्नेमा एरोटेक सबैभन्दा पुरानो कम्पनी हो । हाल दैनिक १२ सय सिलिन्डर उत्पादन गर्दै आएको एरोटेक करीब एक दशकदेखि सञ्चालनमा छ । वर्ष ५ अंक ५३, २०६७, भदौ १४–२०