उद्योग संगठन मोरङद्वारा भेन्डिङ मेसिन सहयोग

विराटनगर (अस) । ११२ औं अन्तर्राष्ट्रिय महिला दिवस अवसरमा उद्योग संगठन मोरङले जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत महिला प्रहरीका साथै सेवाग्राहीले प्रयोग गर्न मिल्ने गरी स्यानिटरी भेन्डिङ मेसिन जडान गरी सञ्चालनमा ल्याएको छ । संगठनले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत गत मंसिरबाट यस क्षेत्रका उद्योगमा भेन्डिङ मेसिन जडान गर्ने अभियान थालेको थियो । सोही अभियानअन्तर्गत यसअघि मोरङको टंकीसिनुबारीस्थित दुगड फुड एन्ड स्पाइसेस प्रालिमा एक थान भेन्डिङ मेसिन जडान गरिसकेको छ । उद्योग संगठन मोरङ, महिला उद्यम समिति तथा सामाजिक विकास समितिको तत्वावधानमा महिलाको स्वास्थ्य सुरक्षालाई दृष्टिगत गरी सञ्चालनमा ल्याएको अभियानअनुसार विराटनगरको एक स्कुल र एक उद्योगमा भेन्डिङ मेसिन जडान गर्ने कार्यक्रम रहेको संगठनले जनाएको छ । महिला दिवस अवसरमा सामाजिक न्याय लैंगिक समानता दिगो विकास सुनिश्चतता नाराका साथ विराटनगरमा मंगलबार निकालिएको प्रभात फेरीमा संगठनका महिला उद्यमीले सहभागिता जनाएका थिए । भेन्डिङ मेसिन हस्तान्तरण कार्यक्रममा उद्योग संगठन मोरङका उपाध्यक्ष नन्दकिशोर राठी, कार्यसमिति सदस्य सुवोध कोइराला, महिला उद्यम समिति संयोजक प्रतिभा रिजाल ओली, सह–संयोजक जयश्री जाजुलगायत महिला उद्यमीको सहभागिता थियो ।