हुलाकी सडकको सुदूरपश्चिम खण्ड निर्माण सुस्त

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा साढे चार वर्ष अघिदेखि विभिन्न प्याकेजमा हुलाकी सडक निर्माण भइरहे पनि कामले गति लिन सकेको छैन । कञ्चनपुरमा पूर्वी डोकेबजारदेखि यहाँको दक्षिण क्षेत्र हुँदै वेदकोट नगरपालिकाको दैजीसम्म निर्माण हुने ६२ किलोमिटर हुलाकी सडकको निर्माणको म्याद चार पटक थपिँदा मुश्किलले ५० प्रतिशत काम सम्पन्न भएको छ । २०७३ फागुनमा एक अर्ब २० करोड लागतमा तीन प्याकेजको हुलाकी सडक निर्माणको काम थालिए पनि अझै ३० किलोमिटर सडक निर्माण हुन बाँकी छ । पहिलो प्याकेजको डोकेबजार क्षेत्रमा दुई किलोमिटर, दोस्रो प्याकेजको पचुई क्षेत्रमा एक हजार ६०० मिटर तथा शुक्लाफाँटा निकुञ्ज र कलकत्ता क्षेत्रमा गरी ३० किलोमिटर कालोपत्र गर्न बाँकी रहेको बताइएको छ । ३० महिनामा काम सक्नेगरी तीनओटा निर्माण कम्पनीले निर्माण थाले पनि दुईपटक कोरोना भाइरस संक्रमण जोखिमका कारण निर्माण प्रभावित भएको हुलाकी राजमार्ग योजना कार्यालय कैलालीका सूचना अधिकृत इञ्जिनीयर पद्मबहादुर मडैले बताए । ‘तीनओटै प्याकेजलाई आगामी चैत महिनासम्मको समयावधि दिइएको छ,’ उनले भने, ‘विविध कारण आइलाग्दा निर्माणमा ढिलाइ भयो ।’ यहाँको पुनर्वास र बेलौरीदेखि बेलडाँडीसम्मका स्थानीयवासीलाई प्रदेशको अस्थायी राजधानी धनगढी र सदरमुकाम महेन्द्रनगरसित आवागमन सहज हुने हुलाकी सडक भएको स्थानीयवासीको भनाइ छ । सो सडक निर्माणमा गति दिन पटक÷पटक स्थानीयवासीले पनि दबाब दिँदै आएका छन् । त्यसैगरी कैलालीमा पनि सातवटा प्याकेजमा हुलाकी सडक निर्माणको काम भइरहेको छ । लम्की–टीकापुर खण्डको पहिलो प्याकेज बाहेक अन्यत्रको काममा भने ढिलासुस्ती देखिएको छ । लम्की–टीकापुर साढे २७ किलोमिटर सडक निर्माण तीनवटा प्याकेजमा विभाजन गरिएको छ । पहिलो आठ किलोमिटर सडकको ४० प्रतिशत काम सम्पन्न भइसकेको हुलाकी राजमार्ग योजना कार्यालयले बताएको छ । उक्त खण्डको दोस्रो र तेस्रो प्याकेजमा २० प्रतिशत भौतिक प्रगति भएको उनको भनाइ छ । त्यसैगरी धनगढी–भजनी र सत्ती ३१ किलोमिटर सडक पनि तीनवटा प्याकेजमा ठेक्का गरेर काम अघि बढेको छ । उनले ककनीबाट कान्द्रा नदीसम्मको १८ किलोमिटर सडक निर्माणको जिम्मा २०७३ फागुनमै दिएको भए पनि उक्त सडक निर्माणमा ढिलाइ भइरहेको बताए । ‘त्यो खण्डमा करीब दुई किलोमिटर रुख कटानमा समस्या आउँदा केही समय रोकिए पनि अहिले सुचारु भइसकेको छ,’ उनले भने, ‘मोहना पुलदेखि क्याम्पस रोडसम्मको साढे ६ किलोमटर खण्डको कालोपत्र अन्तिम चरणमा पुगेको छ ।’ रासस