रौतहटको जयनगरमा फर्निचर मेला, ५ करोडको कारोबार हुने अनुमान

फागुन ५, रौतहट । काठबाट बनेका आकर्षक फर्निचर सामग्री किन्नका लागि सर्वसाधारणले प्रत्येक वर्ष रौतहटको जयनगरमा लाग्ने मेला नै पर्खने गरेका छन् । अन्य ठाउँमा सामान किनेको भन्दा यहाँ २५ प्रतिशतभन्दा कम मूल्यमा फर्निचर सामग्री खरीद गर्न पाइन्छ । मेलामा राखिएका फर्निचरका सामग्रीहरु सस्तो, बलियो र आकर्षक हुने भएपछि यहाँका स्थानीयहरु खरीदका लागि मेला नै पर्खने गरेको शिवनगरका स्थानीय करण कुमार मिश्राले बताए ।  साल, सिसौ, टिक, मसला, आँपलगायत विभिन्न जातको काठबाट आकर्षक तरिकाले बनाइएका फर्निचर सामग्री मेलामा पाइन गरेको उनको भनाइ छ । बलियो काठको आफैले फर्निचर बनाएर यस मेलामा ल्याउने गरेकाले बजारभन्दा तुलनात्मक रूपमा सस्तो हुने र सम्पूर्ण सामानहरु एकै ठाउँमा उपलब्ध हुने भएपछि मेला खरीदकर्ताहरुका लागि आकर्षणको केन्द्र विन्दु बनेको छ । मेलामा आकर्षक तरिकाले बुट्टा कुदिंएका पलंङ्ग, कुर्सी, ढोका, सोफा, दराज तथा किसानलाई खेती र घरायसी प्रयोजनमा आउने फलामका हसिंया, कुटो, बञ्चरो, खुकुरीलगायतका सामग्री निर्माण गरी मेलामा विक्रीका लागि राखिएका छन् । नेपाल विश्वकर्मा बजार समितिको आयोजनामा प्रत्येक वर्ष झैं यस वर्ष पनि गरुडा नगरपालिका–१ जयनगरमा फर्निचर मेला शुरु भएको हो । श्रीपञ्चमीको अवसरमा शुरु भएको मेला करीब एक महीनासम्म लाग्ने आयोजकले बताएको छ । मेलामा फर्निचर सामग्री विक्री गर्दै आएका व्यवसायीहरुले हरेक वर्ष दोब्बर सामग्री विक्री गर्ने गरेको बताएका छन् । मेलामा यस वर्ष करीब ३०० भन्दा बढी व्यवसायीले फर्निचर सामग्री विक्रीका लागि राखेका छन् । मेलामा यस वर्ष ५ करोड रुपैयाँको कारोबार हुने अनुमान रहेको नेपाल विश्वकर्मा बजार समितिका अध्यक्ष अरुण यादवले बताए । गत वर्ष ४ करोड रुपैयाँको कारोबार भएकोमा गत वर्षको तुलनामा यस वर्ष फर्निचर व्यवसायीको संख्या बढेको र अवलोकनकर्ताको संख्यासमेत बढ्ने उनले बताए । यहाँका फर्निचर सामग्रीहरु सर्लाही, बारा, पर्सा, धनुषा, काठमाडौं, पोखरा, विराटनगर, जनकपुर र भारतको बिहार प्रान्तका सीतामढी, पूर्वी चम्पारण, मुजफ्फरपुर र पटनासम्म फर्निचर पुग्ने गरेको व्यवसायीहरुको भनाइ छ ।

सम्बन्धित सामग्री

जयनगरमा फर्निचर मेला

रौतहट । जयनगरमा फर्निचर मेला लागेको छ । हरेक वर्ष श्रीपञ्चमीको अवसरमा लाग्ने मेलामा काठबाट बनेका विभिन्न फर्निचरको प्रदर्शनी गरिँदै आएको छ । माघ १२ गतेदेखि लागेको मेला १ महीनासम्म चल्ने आयोजकले जानकारी दिएको छ । आयोजक नेपाल विश्वकर्मा बजार समिति जयनगरले मेलामा फर्निचर हेर्न र खरीद गर्न सक्ने बताएको छ । मेला शुरू भएयता जयनगरमा सर्वसाधरणको भीड लागेको छ । फर्निचर मेलामा विभिन्न जातका काठबाट बनाइएका दराज, कुर्सी, पलङ, टेबल तथा फलामका कृषि औजार राखिएका छन् । मेलामा २ सयभन्दा बढी व्यवसायी सहभागी छन् । हरेक वर्ष फर्निचर मेलामा व्यापारी थपिने स्थानीय व्यापारी रामभरोसा साहले बताए । उनका अनुसार मेलामा  फर्निचर सस्तो पाइने भएकाले धेरै ठाउँका ग्राहक तथा व्यापारी आउने गरेका छन् । मेलाका फर्निचरहरू जनकपुर, पोखरा, काठमाडौं, वीरगञ्ज, सर्लाही, र बारासम्म पुग्ने गरेको पाइएको छ । छिमेकी भारतको बैरगनियाका स्थानीयले समेत फर्निचर खरीद गरेर लैजाने गरेको उनले बताए । यस वर्ष फर्निचर व्यवसायीको संख्या बढेको र अवलोकनकर्ता पनि बढ्ने देखिएकाले ६ करोड रुपैयाँको कारोबार हुने अनुमान नेपाल विश्वकर्मा बजार समितिको छ । समितिका अनुसार गतवर्ष ५ करोडको हाराहारीमा कारोबार भएको थियो । फर्निचर मेलामा बाहिर बजारको भन्दा २५ प्रतिशतसम्म सस्तो हुने बताइएको छ । यातायातको सुविधा रहेकाले लक्ष्य अनुसारको कारोबार हुने अनुमान गरिएको छ । ५० वर्षभन्दा अघिदेखि रौतहटको शिवनगरमा लाग्दै आएको मेला २०६४ सालदेखि गरुडा नगरपालिका–१ जयनगरमा लाग्दै आएको छ ।