बैतडीमा थपिएको निषेधाज्ञा आजदेखि लागू

जेठ ३, बैतडी । बैतडीमा थप भएको निषेधाज्ञा आज (सोमवार) देखि लागू भएको छ । थपिएको निषेधाज्ञा यही जेठ १७ गतेसम्म लागू हुनेछ ।  आइतवार प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले आदेश जारी गर्दै  निषेधाज्ञालाई १५ दिन थप गर्दै जेठ १७ गतेसम्म कायम गरेका हुन् ।   यसअघि बैतडीमा वैशाख २० गतेदेखि जेठ २ गतेसम्मका लागि निषेधाज्ञा गरिएको थियो । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले गरेको सिफारिसअनुसार जेठ १७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको हो । जिल्लाका कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढिरहेकाले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा थप गरिएको जानकारी दिइएको हो । निषेधाज्ञाको समयमा सवारी साधन आवागमनमा पूर्ण रोक लगाइनेछ भने अनावश्यक कसैले पनि हिँडडुल गर्न पाइने छैन ।  खाद्यान्न तथा तरकारी पसल बिहान ७ बजेदेखि ९ बजेसम्म मात्रै खोल्न पाइनेछ । यसअघि बिहान १० बजेसम्म पसल खोल्न पाइने निर्णयमा थप कडाइ गरिएको हो ।  यसैगरी बैंक तथा वित्तीय संस्थाहरुले पनि आलोपालो मिलाई हप्तामा तीन दिन मात्रै दिनको दुई घण्टा सेवा दिनुपर्ने आदेशमा उल्लेख गरिएको छ । यसैगरी पूर्वस्वीकृति लिएका सवारी साधन मात्रै सञ्चालन गर्न पाइनेछ । कुनै निर्माणका काम गर्नुपरेमा सम्बन्धित कार्यालय प्रमुख र योजना प्रमुखले सिफारिस गरेमा आवश्यकताका आधारमा ती काम सञ्चालन गर्न दिने निर्णय भएको छ ।  कुनै विकास निर्माणका योजनाको काम अघि बढाउँदा संक्रमण नफैलिने सुनिश्चितता भएको अवस्थामा त्यस्ता आयोजनामा मात्रै काम गर्न दिने र अन्यथा सबै विकास निर्माणका कामसमेत रोक्न भनिएको छ ।   निषेधाज्ञाको अवधिमा सबै प्रकारका सभा सम्मेलन र बैठकहरुमा रोक लगाइएको छ भने विवाह, व्रतबन्ध, अन्तिम संस्कार जस्ता कार्य थोरै मानिसको सहभागितामा जिल्ला प्रशासन कार्यालयको समन्वयमा गर्न पाइनेछ ।  कसैले निषेधाज्ञाको उल्लंघन गरेमा संक्रामक रोग ऐनअनुसार कारवाही हुने बताइएको छ । बैतडीमा कोरोनाका  सक्रिय संक्रमितको संख्या ९१५ रहेको छ । हालसम्म कोरोनाकै कारण ११ जनाको मृत्यु भइसकेको छ । रासस

सम्बन्धित सामग्री

बैतडीमा साउन मसान्तसम्म लम्बियो निषेधाज्ञा

रासस। भारतसँग सीमा जोडिएको बैतडी जिल्लामा साउन मसान्तसम्म निषेधाज्ञा थपिएको छ। कोरोना भाइरसको जोखिम कायमै रहेकाले निषेधाज्ञाको अवधि साउन ३२ गते मसान्तसम्म थपिएको हो। यसअघि खुकुलो पार्दै जिल्लामा साउन १ देखि १५ गतेसम्म छैटौँ पटक निषेधाज्ञा थपिएको थियो। आजदेखि लागू हुने गरी सातौँ पटक निषेधाज्ञा थपिएको बैतडीका निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिए।

बैतडीमा जेठ १७ गतेसम्म निषेधाज्ञा

बैतडीमा थप भएको निषेधाज्ञा  आजदेखि लागू भएको छ । थपिएको निषेधाज्ञा यही जेठ १७ गतेसम्म लागू हुनेछ । आइतबार प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले आदेश जारी गर्दै  निषेधाज्ञालाई १५ दिन थप गर्दै जेठ १७ गतेसम्म कायम गरेका हुन् ।  यसअघि बैतडीमा वैशाख २० गतेदेखि जेठ २ गतेसम्मका लागि निषेधाज्ञा गरिएको थियो ।...