आईएमई लाइफ इन्स्योरेन्सको आईपीओ  खरीद गर्ने अन्तिम दिन सोमवार

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले असार २१ गतेदेखि सर्वसाधारणमा जारी गरेको आईपीओ खरीद गर्ने अन्तिम दिन असार २५ गते रहेको छ । कम्पनीको आईपीओ खरीदका लागि मागभन्दा बढी आवेदन परिसकेकाले छिटो अवधि असार २५ गतेसम्म मात्र विक्रीमा रहने निश्चित भएको हो ।  कम्पनीले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ बाँडफाँट गरी सर्वसाधारणमा विक्री खुला गरेको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीमा असार १ गतेदेखि १५ गतेसम्म १२ लाख कित्ता आईपीओ विक्री गरी असार १९ गते बाँडफाँट गरिएको हो ।  कम्पनीले सर्वसाधारणमा प्रतिकित्ता रू. १०० अंकित मूल्यमा प्रिमियमबापत रू. १३६ दशमलव ९१ थप गरी प्रतिकित्ता रू. २३६ दशमलव ९१ मा आईपीओ विक्री खुला गरेको हो । कर्मचारीहरूमा भने कम्पनीले प्रतिकित्ता रू. १०० अंकित मूल्यमै आईपीओ विक्री गर्ने बताएको छ । जारी पूँजी रू. ४ अर्बको ३० प्रतिशतले हुने १ करोड २० लाख कित्ता आईपीओ सर्वसाधारणमा विक्री गर्न कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । कुल कित्ता आईपीओेमध्ये १२ लाख कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँट गरिसकेको कम्पनीले कर्मचारीलाई ६ लाख कित्ता र सामूहिक लगानी कोषहरूका लागि ६ लाख कित्ता आईपीओ सुरक्षित गरेको छ । बाँकी ९६ लाख कित्ता भने आम सर्वसाधारणलाई सार्वजनिक निष्कासनमा ल्याउन लागिएको हो । सर्वसाधारणमा जारी हुने आईपीओ ९ लाख ६० हजार योग्य आवेदकहरूले १० कित्ताका दरले हात पार्नेछन् । सर्वसाधारण लगानीकर्ताहरूले कम्पनीको आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म माग गर्न सक्नेछन् । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा सिभिल क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आईपीओ खरीदका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको कार्यालयसँगै मेरो शेयर सफ्टवेयरमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ । आईपीओ निष्कासनका लागि गराइएको रेटिङमा केयर रेटिङ नेपालले समयमै वित्तीय दायित्व पूरा गर्न सक्षम रहेको मध्यम स्तरको सुरक्षित कम्पनीको संकेत गर्ने केयर एनपी त्रिपल बी इस्यूअर रेटिङ प्रदान गरेको छ ।  कम्पनीले नयाँ जीवन बीमा कम्पनीको रूपमा २०७४ भदौ १ गतेदेखि कारोबार शुरू गरेको हो । यस कम्पनीले स्थापना कालदेखि नै मुनाफा आर्जन गर्न सफल भएको छ । अघिल्ला तीन आर्थिक वर्षको सञ्चित नाफाको अवस्था हेर्दा कम्पनीले निरन्तर नाफा बढाएको देखिन्छ । आर्थिक वर्ष ०७६/७७ मा रू. ४३ करोड ७६ लाखभन्दा बढी सञ्चित नाफा गरेको कम्पनीले आर्थिक वर्ष ०७७/७८ मा रू. ७३ करोड ५१ लाखभन्दा बढी सञ्चित नाफा गरेको थियो । आर्थिक वर्ष ०७८/७९ सम्म भने कम्पनीले रू. १ अर्ब ७ करोडभन्दा बढी सञ्चित नाफा गरेको छ । वास्तविक वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १७६ दशमलव ५३ छ । चालू आर्थिक वर्षको चैत मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनी रू. १ अर्ब २६ करोडभन्दा बढी सञ्चित नाफामा छ । चालू आर्थिक वर्षको अन्त्यसम्म कम्पनीले रू. २ अर्ब १ करोडभन्दा बढी सञ्चित नाफा गर्ने प्रक्षेपण गरेको छ । यस कम्पनीको अधिकृत पूँजी रू. ५ अर्ब  छ भने जारी पूँजी रू. ४ अर्ब छ । हाल संस्थापक तर्फबाट चुक्ता भएको पूँजी रू. २ अर्ब ८० करोड रहेको कम्पनीले सर्वसाधारणमा समेत आईपीओ विक्री तथा बाँडफाँटपछि चुक्ता पूँजी रू. ४ अर्ब कायम गर्नेछ । 

सम्बन्धित सामग्री

आईएमई लाइफको आईपीओमा १२ लाख ९० हजार आवेदन, पौने ४ अर्बको सेयर माग

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्राथमिक सेयर (आईपीओ) मा १२ लाख ९० हजार लगानीकर्ताले आवेदन दिएका छन् । सर्वसाधारणका लागि प्रिमियममा आईपीओ बिक्री गरेको कम्पनीको आईपीओमा आवेदन दिने अन्तिम दिन अर्थात सोमबारसम्म १ करोड ५७ लाख कित्ता सेयरका लागि आवेदन दिएको उक्त कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटलले जनाएको छ । […]