जीवन बीमा कम्पनीहरूको बीमा शुल्क संकलन १४ % ले वृद्धि, पहिलो त्रैमासमै उठ्यो करीब ४१ अर्ब

काठमाडौं । जीवन बीमा कम्पनीहरूले आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो त्रैमासमा करीब ४१ अर्ब बीमा शुल्क संकलन गरेका छन् ।  नेपाल बीमा प्राधिकरणका अनुसार आव २०८०/८१ को पहिलो त्रैमासमा १४ जीवन बीमा कम्पनीले ४० अर्ब ८० करोड रुपैयाँ र दुई लघु जीवन बीमा कम्पनीले ३० लाख ७० हजार रुपैयाँ बीमा शुल्क संकलन गरेका हुन् ।   प्राधिकरणका अनुसार १४ जीवन बीमा कम्पनीहरूले आव २०७९/८० को तीन महीनामा ३५ अर्ब ७७ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए । आव २०७९/८० को तुलनामा आव २०८०/८१ को बीमा शुल्क संकलन १४ प्रतिशत बढेको हो ।  आव २०८०/८१ को पहिलो त्रैमासमा सबैभन्दा बढी नेपाल लाइफले बीमा शुल्क संकलन गरेको छ। नेपाल लाइफले यस अवधिमा १० अर्ब ९५ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको हो । सर्वाधिक बीमा शुल्क संकलन गर्ने जीवन बीमा कम्पनीको सूचीमा दोस्रोमा रहेको एलआईसी नेपालले ४ अर्ब ५० करोड रुपैयाँ र तेस्रोमा रहेको हिमालयन लाइफले ४ अर्ब ३८ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।  त्यस्तै, दुई लघु जीवन बीमा कम्पनीले आव २०८०/८१ को पहिलो त्रैमासमा ३० लाख ७० हजार रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । यस अवधिमा गार्डियन माइक्रो लाइफले १९ लाख ३१ हजार रुपैयाँ र क्रेष्ट माइक्रो लाइफले ११ लाख ३९ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।