प्रदेशका रणनीतिक योजना चुनावी एजेन्डामै सीमित

जिल्लामा सक्रिय राजनीतिक दल र तिनका उम्मेदवारहरूले प्रमुख आयोजनालाई चुनावी मुद्दा बनाउने गरे पनि जितेपछि कार्यन्वयनमा ध्यान नदिँदा कति अलपत्र छन् भने कति ओझेलमा परेका छन् । २०६४, २०७० र २०७४ मा भएका आमनिर्वाचनमा कांग्रेस, एमाले, माओवादी केन्द्र लगायत दलहरूले तिब्बत जोडने नाक्चेनाङला सडक, रारा विमानस्थलको पूर्वाधार निर्माण, रारा ताल विकासको निम्ति गुरुयोजना र गमगढी–नाग्मा सडक कालोपत्र गर्ने र मुगु–डोल्फू–तामाखानी राष्ट्रिय प्रसारण लाइन जडान, भरपर्दो सञ्चार नेटवर्क बनाउने जस्ता योजना अघि सारेका थिए । तर, निर्वाचन जितेका कोही पनि जनप्रतिनिधिले यसतर्फ वास्ता नगर्दा अहिले सबैजसो योजना लथालिङ्गजस्तै छन् ।