मधेस प्रदेशको स्वास्थ्य क्षेत्र सुधारोन्मुख,

महेन्द्रनगर (धनुषा)।  मधेस प्रदेश सरकारमार्फत स्वास्थ्य क्षेत्र हस्तान्तरण भएपछि यहाँका स्वास्थ्यमा सुधार हुन थालेको छ । प्रादेशिक स्वास्थ्य निर्देशनालयले आयोजना गरेको आर्थिक वर्ष २०७९/८० को वार्षिक समीक्षा कार्यक्रममा सहभागीहरुले सीमित साधनस्रोत भएर पनि स्वास्थ्य क्षेत्रमा सुधार गर्न लागिपरेको जानकारी दिए ।      मधेस प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष नाथुप्रसाद चौधरीले आधारभूत स्वास्थ्यका लागि वडावडामा स्वास्थ्य संस्था स्थापना भए पनि गुणस्तरीय स्वास्थ्य सेवा जनताले अझै पाउन नसकेको बताए । उनले भने, “मधेस प्रदेशमा सुत्केरी तथा शिशुको मृत्युदर अन्य प्रदेशका तुलनामा उच्च भएकाले त्यसमा सुधार गर्नका लागि स्वास्थ्य क्षेत्रका अगुवालाई आग्रह गरिएको छ ।” प्रदेश सरकारको नीति तथा कार्यक्रममा उल्लेख रहेको सुपोषित प्रदेश बनाउने र मातृ तथा शिशु मृत्युदर घटाउने नीतिलाई प्रभावकारीरूपले कार्यान्वयन गर्न आवश्यक भएको उपाध्यक्ष चौधरीले बताए । प्रदेशसभा सदस्य रुपाकुमारी यादवले मधेस प्रदेशका स्वास्थ्यकर्मी तथा शिक्षक देशमा नै नाम कहलिए यहाँको स्वास्थ्य क्षेत्र पछाडि पर्नाको कारणबारे प्रश्न उठाए । प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा प्रमोदकुमार यादवले मधेसको स्वास्थ्य क्षेत्र विगत पाँच वर्षयतादेखि निरन्तर सुधार भइरहेको बताउँदै अहिले स्वास्थ्यका धेरै पूर्वाधारको व्यबस्ता तथा उपचार पनि शुरू गरिएको छ भने। सबै जिल्लामा १५ शय्यामा सञ्चालित अस्पताललाई प्रादेशिक अस्पतालमा ल्याएर एक सय शय्या सञ्चालन गर्ने काम भएको उनको भनाइ थियो । सचिव यादवले प्रदेशमै गुणस्तरीय प्रयोगशाला तथा दुई करोड डोज अटाउने खोप भण्डार गृह सञ्चालनमा ल्याइएको जानकारी दिए । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा सञ्जयकुमार ठाकुरले मधेस प्रदेशमा धनी तथा गरिबबीच खाडल भएका कारणले गरिबमा कुपोषण तथा धनीमा नसर्ने रोगको समस्या भएको बताए । निर्देशनालयका निर्देशक डा राजीवकुमार झाले जनशक्ति तथा साधन स्रोतको अभावले कतिपय क्षेत्रमा चाहेजतिको कामकाज गर्न नसके पनि स्वास्थ्य क्षेत्रको सुधारका लागि प्रदेश सरकार लागिपरेको बताए । उनले भने, स्वास्थ्य क्षेत्रमा सुधार ल्याउनका लागि पालिकासँगको सहकार्यलाई बलियो बनाउनुपर्नेमा जोड दिए । स्वास्थ्य सेवा केन्द्रका निर्देशक डा अरुण बास्तोला, प्रदेश आपूर्ति केन्द्रका निर्देशक डा नागेन्द्रप्रसाद यादव, राष्ट्रिय तालिम केन्द्रका निर्देशक डा सरोजकुमार खड्का र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका समन्वय महाशाखा प्रमुख डा चुमनलाल दास, क्षयकुष्ठ रोग अधिकृत राजवीर यादवसहितले स्वास्थ्य क्षेत्रका विविध विषयमा चर्चा गरेका थिए । रासस