एकीकृत भन्सार जाँच चौकी निर्माणमा ढिलाइ

बाँके । पश्चिम नेपालको प्रमुख नाका नेपालगञ्जस्थित नेपाल–भारत सीमा क्षेत्रमा निर्माणाधीन एकीकृत भन्सार जाँच चौकी निर्माणमा ढिलाइ भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१६ जयसपुरमा निर्माणाधीन एकीकृत जाँच चौकी निर्माणको काम एकदमै सुस्त गतिमा भइरहेको छ । एक वर्षमा १५ प्रतिशत मात्र निर्माण सम्पन्न भएको शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन एकाइ नेपालगञ्जका इन्जिनियर होमनाथ भुसालले जानकारी दिए । उनका अनुसार भारत सरकारको दुई अर्ब ३५ करोडमा भारतकै राजदीप विल्डकन प्रालिले दुई वर्षमा सक्नेगरी काम थालेको छ । कम्पनीले काम थालेको एक वर्ष बित्दा पनि निर्माणले गति लिन सकेको छैन । एकीकृत भन्सार जाँच चौकी निर्माण कार्यमा ढिलाइ हुँदा मालवाहक सवारीसाधन जाँचपासमा समस्या हुनुका साथै क्वारेन्टाइन, अध्यागमन, खाद्य प्रविधिलगायत भन्सारसँग सम्बन्धित काममा कठिनाइ हुन पुगेको छ । कोरोनाले काममा चार महिना ढिलाइ गरेको भन्दै निर्माण कम्पनीले भारत सरकारसँग चार महिना थप समय माग गरेको सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन एकाइ नेपालगञ्जका इन्जिनियर भुसालले बताए । अहिले एकीकृत जाँच चौकीसम्म पुग्ने सडक र पर्खाल लगाउने काम सँगसँगै भइरहेको छ । दुई दशमलव दुई किलोमिटर लम्बाइ र ६० मिटर चौडाइ भएको उक्त सडकमा बीच बिन्दुबाट १२ मिटर कालोपत्र गरिने इन्जिनियर भुसालको भनाइ छ ।      ८८ बिघा क्षेत्रमा फैलिएको आइसीपीमा भन्सार, अध्यागमन, प्लान्ट तथा पशु क्वारेन्टाइन, बैंक, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्यारेकलगायत संरचना निर्माण गरिनेछ । एकै ठाउँबाट सम्पूर्ण सेवा प्रदान गर्ने उद्देश्य रहेकाले जाँच चौकी निर्माणसँगै ट्राफिक जाम नहुनुका साथै व्यापारीलाई ठाउँ–ठाउँमा जाँचको लागि जाने झमेला नहुने नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले बताए । सन् २००५ मा एकीकृत भन्सार जाँच चौकी निर्माण गर्न नेपाल–भारतबीच सम्झौता भएको थियो । नेपालको विराटनगर, वीरगञ्ज, भैरहवा र नेपालगञ्जमा आइसीपी निर्माण गर्ने सम्झौता भएको थियो । विराटनगर र वीरगञ्जमा निर्माण सम्पन्न भई सञ्चालनमा आइसके पनि नेपालगञ्ज र भैरहवाको काम सँगसँगै अगाडि बढेको इन्जिनियर भुसालले जानकारी दिए । रासस  

सम्बन्धित सामग्री

नेपालगञ्जमा आईसीपी निर्माणमा ढिलाइ : १६ वर्षमा २० प्रतिशत काम

नेपालगञ्ज नाकामा निर्माण भइरहेको एकीकृत भन्सार जाँच चौकी (आईसीपी)को निर्माण कार्य १६ वर्षमा २० प्रतिशत मात्र भएको छ । सन् २००५ मा नेपाल भारत सरकारबीच एकै पटक विराटनगर, वीरगञ्ज, नेपालगञ्ज र भैरहवा नाकामा आईसीपी निर्माणको सम्झौता गरिएको थियो । तर, विराटनगर र वीरगञ्जमा निर्माण पूरा भइसकेको छ भने नेपालगञ्जको आईसीपी निर्माणमा ढिलाइ भएको छ ।

नेपाल–भारत सीमा क्षेत्रको एकीकृत भन्सार जाँच चौकी निर्माणमा ढिलाइ

बाँके – पश्चिम नेपालको प्रमुख नाका नेपालगञ्जस्थित नेपाल–भारत सीमा क्षेत्रमा निर्माणाधीन एकीकृत भन्सार जाँच चौकी निर्माणमा ढिलाई भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१६ जयसपुरमा निर्माणाधीन एकीकृत जाँच चौकी निर्माणको काम एकदमै सुस्त गतिमा भइरहेको छ । एक वर्षमा १५ प्रतिशत मात्र निर्माण सम्पन्न भएको सहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाइ नेपालगञ्जका इन्जिनियर […]