गौतमबुद्ध विमानस्थल सञ्चालनमा आउनु नेपालका लागि महŒवपूर्ण उपलब्धि हो । तर, यो उपलब्धिसँगै नेपाल–भारत सम्बन्धमा नयाँ आयाम सृजनाको आंशका गरिएको छ ।
खुला सिमाना भएकाले सिमानानजिकै उसले नेपालको अन्तरराष्ट्रिय विमानस्थल नचाहेको र यही कारण पश्चिमको रुट दिन आनाकानी गरेको बुझ्न सकिन्छ ।
नेपालले गौतमबुद्ध विमानस्थल बनाउन थालेपछि भारतले कुशीनगरमा अन्तरराष्ट्रिय विमानस्थल निर्माण गरेकाले यस्तो आशंकालाई बलियो बनाएको हो । गौतमबुद्ध विमानस्थल उद्घाटन गरेकै दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कुशीनगरबाट लुम्बिनी भ्रमणका लागि नेपाल आइपुगे । दिल्लीबाट कुशीनगरसम्म जहाजमा र कुशीनगरदेखि हेलिकोप्टर यात्रा गरेका मोदीले भैरहवा विमानस्थलमा अवतरण नगरी लुम्बिनीको हेलिप्याडमा अवतरण गरे । उनको सुरक्षा रेकी गर्न आएको भारतीय वायु सेनाको विमान भने भैरहवा विमानस्थलमा अवतरण गरेको थियो । यसको कूटनीतिक अर्थ भारतले भैरहवामा अन्तरराष्ट्रिय विमानस्थल नचाहेको भन्ने निकालिएको छ । भैरहवाबाट प्रवेश विन्दु नदिनुको कारण पनि यही रहेको विश्लेषण गरिएको छ ।
गौतमबुद्ध विमानस्थलका लागि पुरानै हवाई रुट प्रयोग गर्नुपर्ने बाध्यता छ । भैरहवा प्रवेशका लागि पश्चिमी नाका (महेन्द्रनगरदेखि भैरहवासम्म) को प्रवेश विन्दु दिन नेपालले आग्रह गरेको धेरै भइसकेको छ । तर, भारतले अहिलेसम्म यस्तो आग्रहको सुनुवाइ गरेको छैन । बरु, भैरहवानजिकै कुशीनगरमा अन्तरराष्ट्रिय विमानस्थल निर्माण गरेर नेपालले मागेको हवाई रुट नदिने संकेत गरिरहेको छ । यसले नेपाल भारत सम्बन्धलाई थप जटिल बनाउने सम्भावनासमेत देखिन्छ ।
पूर्वबाट आएका विमानका लागि साबिकको रुटले केही असर गर्दैन तर पश्चिमबाट आएका विमान भने सिमराबाट नेपाल प्रवेश गरी फेरि पश्चिमतिरै लाग्नुपर्छ । जसले गर्दा लागतको साथै समय पनि बढी लाग्छ । भारत सिद्धान्तत: यो प्रवेश विन्दु उपलब्ध गराउन सहमत भइसकेको हो । तर, सुरक्षा अधिकारीले सुरक्षाको चिन्ता देखाएको भन्दै स्वीकृति दिन भने पछि हटेको छ । प्रधानमन्त्रीकै तहमा यो कुरा उठेर पनि यसबारे सहमति जुट्न सकेको छैन ।
भारतले २१ हजार फीटभन्दा माथिबाट आउने हो भने भैरहवा प्रवेशविन्दु दिन सकिने शर्त राखेको छ । तर यति उचाइबाट आएको विमानले भैरहवा विमानस्थलमा सिधै अवतरण गर्न सक्दैन, आकाशमै एकदुई फन्को लगाउनुपर्ने हुन्छ । भारतको यो प्रस्तावबाट पनि उसले भैरहवा विमानस्थल मन नपराएको संकेत गर्छ । यी विन्दुबाट नेपाल छिर्न नदिए पनि बाहिर निक्लन भने स्वीकृति दिएको छ । यसो गर्नुमा पक्कै पनि सुरक्षाको चासो हुन सक्छ ।
काठमाडौंकै विमानस्थलमा समेत उसले सुरक्षा चिन्ता व्यक्त गर्दै भारतीय सुरक्षाकर्मी राख्न पहल गरेको थियो । खुला सिमाना भएकाले सिमानानजिकै उसले नेपालको अन्तरराष्ट्रिय विमानस्थल नचाहेको र यही कारण पश्चिमको रुट दिन आनाकानी गरेको बुझ्न सकिन्छ । भोलिका दिनमा निजगढ विमानस्थलले पनि यही नियति भोग्न सक्छ । त्यस्तै उसले पश्चिमबाट नेपाल छिर्ने अन्य प्रवेश विन्दु पनि नदिने सम्भावना बढी छ ।
भैरहवामा विमानस्थल सञ्चालन गरेर नेपाले पूर्वाधारमा ठूलै फड्को मारेको देखिन्छ । तर रणनीतिक र व्यावसायिक सम्भावना हेर्न भने नपुगेको हो कि भन्ने देखिन्छ । चीनले बनाएको विमानस्थल भनेर मोदीले प्रयोग नगरेको अर्थ पनि लगाएको पाइन्छ तर यो विमानस्थल एडीबीको ऋण सहयोगमा बनेको हो । अन्तरराष्ट्रिय बोलपत्रको प्रतिस्पर्धाबाट छानिएको चिनियाँ कम्पनीले यसको निर्माण गरेको हो । त्यसैले नेपालले ठूलै कूटनीतिक पहल गरेर मात्रै यो विमानस्थलका लागि पश्चिमतर्फको प्रवेश विन्दु प्राप्त गर्न सक्ने देखिन्छ । यसका लागि नेपालले भारतका केही शर्त मान्नुपर्ने पनि हुन सक्छ । नेपालले त्यस्तो क्षमता र चातुर्य देखाउन सक्ला त ?