रुसी आक्रमणबाट ४ सय स्वास्थ्य संस्था ध्वस्त भएको जेलेन्स्कीको दाबी

काठमाडौं– युक्रेनमा रुसी आक्रमणका कारण ४ सय भन्दा धेरै स्वास्थ्य संस्थाहरू ध्वस्त भएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दाबी गरेका छन् । एउटा गैर नाफामूलक संस्थालाई सम्बोधन गर्दै जेलेन्स्कीले रुसी आक्रमणबाट हालसम्म ४०० भन्दा धेरै अस्पताल, प्रसूति गृह, बहिरङ्ग केन्द्र जस्ता स्वास्थ्य संस्थाहरू ध्वस्त भएको बताएका हुन् । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार आक्रमणका कारण औषधिको […]

सम्बन्धित सामग्री

अभियान सम्पादकीय : नयाँ वर्ष, नयाँ सम्भावना

आजबाट ७० को दशकले बिदा लिएको छ र ८० को दशक प्रारम्भ भएको छ । विक्रम संवत्अनुसार नेपालमा आज वैशाख १ गतेलाई नयाँ वर्षारम्भ दिनका रूपमा उल्लासका साथ मनाइँदै छ । नयाँ वर्षको पहिलो दिनमा बितेको वर्षको मूल्यांकन र आगामी वर्षको नयाँ योजना र सोचलाई साकार बनाउन धेरैले संकल्पसमेत लिन्छन् । नेपालमा विगत केही दशकदेखि नै देशमा केही पनि भएन, विकास निर्माण ठप्प भयो, भएका संरचना पनि ध्वस्त भए भन्ने जमात ठूलो छ । तर, सबै तथ्यांकले यस्तो देखाउँदैनन् । अर्थात्, यसबीचमा नेपालमा थुप्रै सकारात्मक परिवर्तन भएका छन् । यद्यपि जनताको आकांक्षाको आकारअनुसार भने पक्कै छैनन् । थुप्रै प्रगति गर्ने सम्भावना खेर गएका छन् । ती सम्भावना खेर फाल्नुको दोष जोजो जिम्मेवारीमा थिए र छन् उनीहरूले लिनुपर्छ । मुलुकको गति र दिशा पूर्णतया गलत बाटोमा गएको छैन । केही समस्या देखिए पनि ती सम्बोधन गर्न सकिने खालका छन् अत: नयाँ वर्षमा सबै क्षेत्रमा उत्साह र आशाको सञ्चार हुन सकोस् । केही दशकको तुलनात्मक विश्लेषण गर्ने हो भने नेपालमा शिक्षा, स्वास्थ्य, सूचनाप्रविधि, यातायात आदि क्षेत्रमा निकै राम्रो प्रगति भएको छ । मानव विकास सूचकांक हेर्दा नेपालको प्रगति राम्रो मान्नुपर्छ । त्यस्तै प्रतिव्यक्ति आय पनि बढेको छ । गरीबीको दर निकै कम भएको छ । गाउँगाउँमा विद्यालय र स्वास्थ्य संस्था पुगेका छन् । विद्युत् र सूचना प्रविधिको पहुँचै व्यापक बनेको छ । मुलुकका धेरै ठाउँमा कच्ची नै भए पनि सडक सञ्जाल पुगेको छ । जीवनस्तरसँगै नागरिकको चेतनाको स्तर पनि बढेको छ । हो, मुलुकमा स्थिर प्रणालीको विकास हुनुपर्ने हो, त्यो हुन सकेको छैन । राजनीतिक अस्थिरता र राजनीतिक दलभित्रका विसंगतिका कारण जनता निकै निराश देखिएका छन् । सत्ता परिवर्तन र सत्ताप्राप्तिका लागि भएका अनेक खेल हेर्दा जनता दिक्कवाक्क भइसकेका छन् । लोकतान्त्रिक प्रणालीले अपेक्षा गर्ने स्वस्थ प्रतिस्पर्धा र जिम्मेवारी स्थापना हुन सकेको छैन । यसमा सुधार हुन बाँकी छ । आवधिक निर्वाचन, राजनीतिक दलका मुद्दा र कार्यक्रम, तिनले गर्ने वाचा र उपलब्धि आदिको मूल्यांकन गरेर जनताले विकल्प खोजेर यसमा सुधार ल्याउन सक्ने आधार छ । तर, यसका लागि अझै केही समय कुर्नुपर्ने देखिन्छ । मुलुकमा प्रदेशको नामकरणदेखि विकास आयोजनाहरूको छनोटसम्ममा व्यापक चर्चा र बहस हुने गरेको छ । साथै, विविध पक्षबीच द्वन्द्वको सृजना हुने गरेको छ । कुनै पनि जीवन्त समाज र राष्ट्रमा यस्ता द्वन्द्व र समस्या आइरहनु स्वाभाविकै हो । राज्य सञ्चालनमा विकृतिहरू पनि आइरहन्छन् । तर, यस्तो विकृति जानाजान रोपिएको हो कि भन्ने आशंका छ । यसो हो भने चाहिँ सतर्कता जरुरी हुन्छ । समस्या वा विकृतिलाई कसरी सम्बोधन गरिन्छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ । जिम्मेवारीबोधका साथ प्रणाली र पद्धति बसालेर काम हुन्छ भने त्यसले मुलुकलाई बिस्तारै स्थायित्वतर्फ लैजान्छ । त्यसैले समस्या र गुनासो सम्बोधन गर्न राज्यसँग बलियो संयन्त्र हुनुपर्छ । नयाँ वर्षमा यसलाई सुधार गर्दै लैजान सक्नुपर्छ । कुनै पनि मुलुक द्वन्द्व र समस्याबाट खारिएर सही बाटोमा अघि बढ्दै जाने गरेको इतिहास छ । नेपालमा राजनीतिक दलमा देखिएको विकृतिका कारण यस्तो द्वन्द्वले ठूलै अनिष्ट निम्त्याउँछ कि भन्ने भय छ । नयाँ वर्षमा यस्तो भय हटेर मुलुकप्रति पूर्ण विश्वास कायम हुने अवस्था आओस् । साथै अन्योलको भुँवरी हटेर लगानीकर्ताले ढुक्कका साथ लगानी गर्ने अवस्था आओस् । समयको परिवर्तनसँगै हरेक व्यवसायमा परिवर्तनको आवश्यकता हुन्छ । तर, नेपालमा व्यवसायमा प्रवेश गर्नुभन्दा निस्कन बढी समस्या छ । त्यस्ता कानूनमा सुधार हुनुपर्छ । मुलुकको अर्थतन्त्रले सीमित वर्गलाई मात्र फाइदा भयो, प्रतिस्पर्धा भएन भन्ने भनाइ नयाँ वर्षमा सुन्न नपरोस् । मुलुकको गति र दिशा पूर्णतया गलत बाटोमा गएको छैन । केही समस्या देखिए पनि ती सम्बोधन गर्न सकिने खालका छन् अत: नयाँ वर्षमा सबै क्षेत्रमा उत्साह र आशाको सञ्चार हुन सकोस् । वर्षौंदेखि परेको गाठो फुकेर सहज रूपमा आर्थिक, उन्नति प्रगतिको बाटोमा अघि बढ्ने वातावरण बनोस् । मूल गाँठो फुक्न सकेको खण्डमा नेपाल सम्भावनाको मुलुक हो । सबैमा नयाँ वर्षको हार्दिक मंगलमय शुभकामना ।