फूलको उत्पादन हुँदा सिमकोटमा कृत्रिम प्लास्टिक मालाको माग बढ्यो

कात्तिक १९, हुम्ला । तिहार पर्वमा हुम्ला सदरमुकाम सिमकोटमा निकै चहलपहल बढिरहेको छ । पर्वका अवसरमा किनेमेल गर्नेका भीडले बजार चहलपहल बढेको हो ।  तिहारका लागि आफ्ना दाजुभाइका लागि टोपी, फूलमाला र सुपारीलगायतका सामग्री खरीद गर्नका लागि आउँदा सिमकोटका पसल व्यवसायी व्यस्त छन् । बजारमा बालबालिकाले देउसी खेलेर रौनक बढाएका छन् । यतिखेर देउसीका लागि सामग्री जिल्ला बाहिरबाटै महँगोमा आएको छ । आर्थिक अभावका कारण सामग्री किन्नलाई समस्या भएको गाउँबाट आएका महिलाको भनाइ छ ।   कृत्रिम प्लास्टिक मालाको माग बढ्यो जिल्लामा कृत्रिम फूलमालाको माग बढेको छ । यो वर्ष तिहार केही ढिला भएका कारण मखमली र सयपत्री फूल पाइन छाडेपछि बजारमा प्लास्टिक तथा कृत्रिम फूलका मालाको माग बढेको हो । जिल्लामा मखमली र सयपत्री फूलको उत्पादन कम हुनुका साथै उत्पादन हुने गरे पनि यो समय अभाव भएपछि प्लास्टिक, कपडाको मालामा भारी वृद्धि भएको हो । तिहारलाई लक्ष्य गरी व्यापारीले नेपालगञ्ज, सुर्खेतबाट हवाईजहाजमार्फत प्लास्टिकका माला भित्र्याएका छन् । सबैजसो पसल व्यवसायीले जिल्ला बाहिरबाट ल्याएका रङ्गीचङ्गी प्लास्टिकका कृत्रिम माला बेच्नका लागि राखेका छन् । पूरै सिमकोट बजार मालाले सिङ्गारिएको छ भने व्यापारीले ग्राहकलाई आकर्षित गर्न पसलमा माला सजाएर राखेका छन् । जिल्लामा मखमली र सयपत्री फूल उत्पादन कम हुने गरेपछि यहाँका व्यापारीले प्लास्टिकका मालाप्रति ग्राहक आकर्षित बनाउने गरेका छन् ।  तिहारमा माला सबैभन्दा बढी विक्री हुने भए पनि जिल्ला बाहिरबाट माला ल्याउने गरेको व्यापारीले बताउने गरेका छन् । प्रत्येक माला व्यापारीले न्यूनतम रु ५० देखि ३०० भन्दा माथिसम्म विक्री गर्ने गरेका छन् ।  यसले गर्दा सिमकोट र खार्पुनाथ गाउँपालिकासहित बजारवासी गरेर यसको लाखौँको कारोबार हुने पुष्टि गरेको छ । अहिले सबैजसो बजारमा माला किन्नेको भीडभाड बढेको छ । जिल्लामा व्यवसायिक फूलखेती नभएको जानकारी दिइएकोे छ । रासस