किसानलाई ३० थान हाते ट्रयाक्टर हस्तान्तरण

‘कृषि यान्त्रीकरण प्रयोगमा वृद्धि, पाँचखाल नगरको समृद्धि’ भन्ने मूल नाराका साथ पाँचखाल नगरपालिका–८ ले कृषिको आधुनिकीकरण र ब्यवसायीकरणमा सहयोग पु-याउने उद्देश्यले ५० प्रतिशत अनुदानमा ३० थान हाते ट्रयाक्टर किसानलाई एक कार्यक्रमका बीच हस्तान्तरण गरेको छ । पाँचखाल नगरपालिकाका कार्यबाहक नगर प्रमुख संजय लामाले किसानहरूलाई ट्रयाक्टर हस्तान्तरण गरेका हुन । एक ट्रयाक्टर बराबर पाँचजनाको कृषक समूहलाई हस्तान्तरण गरिएको नगर प्रमुख लामाको भनाइ छ । ट्रयाक्टर हस्तान्तरणको उद्देश्य भनेको भोलिका दिनमा ब्यावसायिक खेती गर्ने किसानलाई उत्प्रेरित गर्नु भएको लामाले बताए ।

सम्बन्धित सामग्री

भरतपुर महानगरले बाँड्यो कृषि फार्मलाई अनुदानमा ट्रयाक्टर

चितवन । चितवनका सात वटा कृषि फार्मले उच्च क्षमताको ट्रयाक्टर पाएका छन् । भरतपुर महानगरले कृषिमा आधुनिकीकरण र उत्पादन क्षमता बढाउने योजनासहित ६ वटा ट्रयाक्टर र एउटा हाते ट्रयाक्टर (मिनीटिलर) हस्तान्तरण गरेको हो । महानगर परिसरमा आयोजित कार्यक्रममा  महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख पार्वती शाह ठकुरीले कृषि फार्मका किसानलाई ट्रयाक्टर हस्तान्तरण गरे । उच्च प्रविधिका ट्रयाक्टर पाउनेमा महानगरका  कैलाश कृषि विकास कृषक समूह, विमल एग्रो फार्म एन्ड रिसर्च सेन्टर, कमलपोखरी गरिबी निवारण साना किसान कृषि सहकारी संस्था, अमृत किसान बहुउद्देश्यीय सहकारी संस्था, हिमशिखर कृषि सहकारी संस्था  र उन्नत बिज वृद्धि कृषक समूह रहेका छन् । यस्तै,  रिजन कृषि तथा पशुपक्षी फार्मले हाते ट्रयाक्टर पाएको छ । वितरण गरिएका ट्रयाक्टरमा, हाइरो, कल्टिभेटर र रोटाभेटर रहेका छन् । प्रतिट्रयाक्टर १६ लाख ५२ हजार लागत मूल्यका ट्रयाक्टर महानगरले ८ लाख अनुदान दिएको महानगरका कृषि महाशाखा प्रमुख तेजेन्द्र पौडेलले जानकारी दिए  । महानगरमा आवेदन परेका कृषि फार्म र समूहलाई छनोट गरी थप पाँच वटा ट्रयाक्टर अनुदानमा उपलब्ध गराइने पौडेलले बताए । केही दिनअघि महानगरले एउटा  फार्मलाई धान रोप्ने उच्च प्रविधिको मेसिन हस्तान्तरण गरेको थियो ।  केही दिनमै ५ वटा फार्मलाई धान रोप्ने, प्रशोधन गर्ने र इलेक्ट्रिक डायर मेसिन वितरण गरिने भएको छ । ट्रयाक्टर हस्तान्तरण कार्यक्रममा महानगर प्रमुख  दाहालले महानगरपालिकाले कृषि क्षेत्रको विकासका लागि यान्त्रिकीकरण र आधुनिकीकरणमा जोड दिइएको बताइन् । युवालाई  कृषि कर्ममा आकर्षण गर्न आगामी आर्थिक वर्षमा पनि यस क्षेत्रमा पर्याप्त बजेट विनियोजन गरिएको उपप्रमुख पार्वती शाह ठकुरीले जानकारी दिइन् । चितवनलाई व्यावसायिक र कृषि हबको रूपमा विकसित गर्ने लक्ष्य रहेको उनको धारणा थियो ।