कोरोना बीमाको भुक्तानीमा बीमा समिति जिम्मेवार : अर्थ सचिव

विराटनगर । अर्थसचिव मधुकुमार मरासिनीले कोरोना बीमाबापतको रकम भुक्तानी कसरी गर्ने भन्ने जिम्मेवारी बीमा समितिको रहेको बताएका छन् । विराटनगरमा शुक्रवार पत्रकारहरूसँगको भेटघाटमा अर्थसचिव मरासिनीले बीमाबापतको भुक्तानीबारे अन्योल रहेको बताए । ‘कोरोना बीमाको रकम कसरी भुक्तानी गर्ने गर्ने, समस्या छ,’ उनले भने, ‘यो त बीमा समितिले जान्ने कुरा हो ।’ कोरोना बीमाबापतको रकम अर्थ मन्त्रालयले भुक्तानी नगर्दा रोकिएको बीमा समितिले बताउँदै आएको छ । तर, अर्थसचिव मरासिनीले त्यसबारे अनभिज्ञता प्रकट गरे । सरकारले कोरोना भाइरसबाट संक्रमित भएकाहरूलाई उपलब्ध गराउने भनेको बीमाको सुविधा एक वर्षभन्दा लामो समयदेखि सर्वसाधारणले पाउन सकेका छैनन् । झन्डै ११ अर्ब रुपैयाँ बीमा भुक्तानी दाबी गरिएको भए पनि उक्त रकम कहाँबाट जोहो गर्ने भन्ने विषयबारे अन्योल उत्पन्न भएको छ । अर्थ मन्त्रालयले बीमाको ‘सिद्धान्तभन्दा बाहिर गएर’ बीमा रकम भुक्तानी गर्ने निर्णय गरिएकाले समस्या परेको बताएको छ । तर बीमा समितिले भने ढिला भए पनि सर्वसाधारणले बीमा गरेबापत पाउनुपर्ने भुक्तानी प्राप्त गर्ने बताउँदै आएको छ । अघिल्लो वर्षको वैशाखमै नेपालमा कोरोना बीमा शुरू गरिएको हो । हालसम्म झन्डै पाँच अर्ब रुपैयाँ भुक्तानी गरिएको अधिकारीहरू बताउँछन् । पछिल्लो समय देखापरेको समस्या सल्टाउन अर्थ मन्त्रालयसमक्ष विभिन्न किसिमका विकल्प प्रस्तुत गरेको बीमा समितिले बताएको छ । पछिल्लो समय भएको राजनीतिक परिवर्तन र सरकारी कर्मचारीको सरुवा लगायत कारण पनि प्रक्रिया फेरि बुझ्ने–बुझाउने विषयमा अलमल भएको बताइएको छ ।