मुस्ताङलाई साहसिक खेल पर्यटनको ‘हब’ बनाउन छलफल

उपल्लो मुस्ताङलाई साहसिक खेल पर्यटनको ‘हब’ बनाउन प्रारम्भिक छलफल शुरु गरिएको छ ।

सम्बन्धित सामग्री

साहसिक पर्यटनमा साइक्लिङ

नेपाल माउन्टेन बाइकिङका लागि उपयुक्त हुँदाहुँदै पनि यसबाट अपेक्षित लाभ लिन वञ्चित छ । यद्यपि बेला बेला माउन्टेन बाइकिङका बारेमा छलफल/चर्चा भने हुने गर्छ । माउन्टेन बाइकिङका लागि केही रुट तयार भए पनि ती उपयोगमा आउन सकेको देखिँदैन । नेपालमा व्यक्तिगत तथा सामूहिक रूपमा विभिन्न ट्रेलमा साइक्लिङ गर्ने पर्यटक आउने भएकाले बेलाबेलामा माउन्टेन बाइकिङ प्रतियोगिताहरूसमेत हुने गर्छन् । यसैक्रममा सोमवारदेखि १४ देशका माउन्टेन बाइकरहरूले प्रतिस्पर्धा गर्ने अन्तरराष्ट्रिय माउन्टेन बाइकिङ प्रतियोगिता शुरू हुँदै छ । दोलखा जिल्लाको भीमेश्वर नगरपालिकामा पर्ने ३० किलोमीटर ट्रेलमा यो प्रतियोगिता शुरू हुन गइरहेको हो । जबकि यस्ता प्रतियोगिता निरन्तर भइरहनुपर्ने हो । यसरी प्रतियोगिता हुनु राम्रो हो तर यतिले मात्र पुग्ने देखिँदैन । साहसिक पर्यटनका लागि नेपाल प्रमुख गन्तव्य हुँदाहुँदै किन साहसिक खेलहरूको संख्या निकै कम छ भन्ने प्रश्न महत्त्वपूर्ण रहँदै आएको छ । यहाँको भौगोलिक बनोट यस्तो खेलका लागि निकै उपयुक्त छ । विश्वमै साहसिक पर्यटनको एउटा प्रडक्ट हिमाली र पहाडी क्षेत्रमा गरिने साइक्लिङ हो । नेपालमा माउन्टेन साइक्लिङका प्रतियोगिता भइरहे पनि अन्तरराष्ट्रिय रूपमा यहाँको ट्रेलले नाम कमाउन सकेको छैन । यसमा अन्तरराष्ट्रिय स्तरको कार्यक्रम नहुनु एउटा कारण हो भने अर्को भएका कार्यक्रमको पनि प्रचार हुन नसक्नु हो । अहिले विश्वमा उत्कृष्ट साइक्लिङ रुट वा टे्रेल भनेर जुन जुन ठाउँको चर्चा गर्ने गरिएको छ तीभन्दा उत्कृष्ट साहसिक साइक्लिङको अनुभव नेपालमा गर्न सक्ने देखिन्छ । ती रुटमा कतिपय मानवनिर्मित संरचनाबाट साहसिक खेल गराएको पाइन्छ जुन नेपालमा प्राकृतिक रूपमा नै रहेको छ । कतिपय मुलुकमा त कृत्रिम पहाडहरू बनाएर यस्ता खेल आयोजना हुन्छन् । नेपालमा भने यस्तो पहाडहरू र हिमालहरू अनगिन्ती छन् जहाँ माउन्टेन साइक्लिङको उत्कृष्ट अनुभव गर्न सकिन्छ । यी ठाउँमा अन्तरराष्ट्रिय प्रतियोगिताहरू हुने र विश्वविख्यात साइक्लिस्टहरूले भाग लिने हो भने यसको प्रचार भई नेपाल पनि उत्कृष्ट माउन्टेन साइक्लिङको सूचीमा पर्न सक्छ ।  अहिले पनि नेपालमा साइक्लिङ गर्न आउने प्रशस्त छन् । माउन्टेन बाइकिङ अफरोड र अनरोड दुवै हुन सक्छन् र नेपालमा यी दुवै थरी साइक्लिङमा विशिष्ट अनुभूति लिन सकिन्छ । माउन्टेन बाइकिङका पनि विभिन्न शैली र विधा हुन्छन् । यसमा इन्डयुरो, क्रसकन्ट्री, डाउनहिल, स्लोपस्टाइल, फ्रीराइड, फोरक्रस, पम्प ट्य्राक आदि विधा छन् । खासमा माउन्टेन बाइकरहरू उच्च पहाडी भूभाग र वनजंगलमा साइक्लिङ गरिरहेका हुन्छन् । यी सबै खाले साइक्लिङ नेपालमा हुन सक्छ । सरकारले ठूलो लगानीमा अन्तरराष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्ने हो भने पनि विश्वका साइकलयात्रीहरूको ध्यान आकृष्ट गर्न सक्छ ।  साइकल टुरिजम पर्यटनको एउटा विधा हो । एक अध्ययनले २०२२ मा ११६ अर्ब मूल्य बराबरको साइकल टुरिजम भएको देखाएको छ । २०३० सम्म यो प्रतिवर्ष ९ प्रतिशतका दरले बढ्दै जाने आकलन उक्त अनुसन्धानले देखाएको छ । विश्व साइकल टुरिजमको ४० प्रतिशत अंश यूरोपले ओगटेको छ । तर, सम्भावना भएर पनि नेपालले यसको अंश लिन सकेको छैन । त्यसैले नेपालले यसको प्रवर्द्धनका लागि विशेष अभियान चलाउनुपर्छ । त्यसो भयो भने अहिले जसरी ट्रेकिङका लागि नेपाल आकर्षक गन्तव्य बनेको छ त्यसरी नै माउन्टेन साइक्लिङका लागि पनि विश्वकै आकर्षक गन्तव्य बन्न सक्छ ।

बाँदर जान नसक्ने भीरमा आधा अर्ब लगानी : ८०० फिटको उचाईमा स्काई क्याफे सञ्चालन

फागुन ४, काठमाडौं‍ । बागलुङ र पर्वतको सिमानदी कालिगण्कीको खोँचमा एउटा अनौठा क्याफे सञ्चालनमा छ ।  स्काई क्याफे भनेर चिनिने यो क्याफे नदीको गहिराईदेखी साढे ८०० फिटको उचाईंमा अवस्थित छ । फलामे डोरीमा झुण्डिएको अनौठो क्याफेको अवधारणा भने सोहि ठाउँमा बञ्जी सञ्चालन गर्दै आएको द क्लिफ प्रालिले ल्याएको हो ।  पर्यटन व्यवसायमा लगानी गरिरहेको कम्पनीले बागलुङको बलेवा र पर्वत सदरमुकाम कुश्मा बजारलाई साहासिक खेलको हव बनाउने योजना सहित शूरु भएको थियो ।  शरीर नै जिरिङ्ग हुने भीमकाय भीर, जहाँ सजिलै बाँदर पनि जान सक्दैन । तर यहाँका व्यवसायीले भने यहि भीरमा अवसर देखेर आधा अर्ब रुपैयाँ लगानी गरेका छन् । अहिले यस स्थानमा रिसोर्ट, क्याफे, बञ्जी, स्वीङ, स्काई साईकिलिङ, पीङ  लगायतका साहसिक खेल र पर्यटकिय व्यवसाय सञ्चालन भएका छन् ।  बञ्जी जम्प, स्वीङ, स्काई साईकिलिङ लगायतका साहासिक खेल सञ्चालन गरेको कम्पनीले हालै मात्रै स्काई क्याफे सञ्चालनमा ल्याएको हो । करीब एक महिनादेखि क्याफे सञ्चालनमा आएपनि यसको आधिकारिक शुभारम्भ भने गरिएको छैन । यस प्रकारको क्याफे नेपालमै पहिलोपटक सञ्चालनमा ल्याइएको हो ।  स्काई साइक्लिङका लागि राखिने फलामे तार सँगसँगै थप फालमे तार राखेर क्याफे सञ्चालन गरिएको छ । एउटा टेवल सहित बस्ने बेन्चलाई फलामे तारमा झुण्ड्याइएको छ । फलाममा काठका फ्ल्याक जडान गरेर बेञ्च र टेबल निर्माण गरिएको छ ।  टेबललाई घिर्नीका माध्यमबाट डरलाग्दो भीरमाथी राखेर क्याफेलाई यताउता हिँडाइराखिएको हुन्छ ।   ग्रहाकलाई घिर्नीको माध्यमले भीरको मध्ये भागमा पुर्यारउने र त्यसपछि होटलका स्टाफले स्काई साईकिलिङ गर्दै कफी र खाजा सर्भिस गर्ने गरेको द क्लिफका सञ्चालक राजु केसीले बताए ।  यस क्याफेको अनुभव लिन चाहानेहरूले एकमुष्ट ५ हजार रुपैयाँ तिरेपछि  स्काई क्याफेमा बसेर अर्डर अनुसारको खाजा र कफी पनि खान सक्छन् ।   पूर्ण सुरक्षाको व्यवस्था गरिएको क्याफेमा ग्राहकले यात्रा गर्ने बेला ‘अर्डर’ गरेका खानेकुरा खाँदै खुला आकाशमा यात्रा गर्न सक्छन् । हाल क्याफेमा दैनिक औसत ५० जनाले स्काई क्याफेको मज्जा लिने गरेको सञ्चालक केसीले अभियानलाई बताए । अहिले शूरूआती चरण भएको र खासै प्रचार प्रसार नगरिएको उनको भनाई छ ।   ‘हाल सम्म बञ्जी, स्विङ, स्काई साईकिलिङ र रिसोर्टका लागि ४८ करोड रुपैयाँ बढी लगानी भइसकेको छ ।’ केसीले भने, ‘यो स्थानमा धेरै सम्भावना छन्, त्यसैले यहाँ लगानी गरेका छौँ ।’  अव द क्लिफले तत्काल लगानी बढाउने भन्दा अन्य व्यवसायी साथीसँग सहकार्य गर्दै प्याकेज ल्याउने योजना बनाएको छ ।  ‘भर्खरै केही साथीहरुले जिपलाईन शरु गर्नुभएको छ । यहाँ र्याप्टिङको सम्भावना पनि छ । प्याराग्लाईडिङको कुरा पनि छ । यदि यस्ता खेल शूरू भएमा एकिकृत प्याकेज बनाएर पर्यटन भित्र्याउने योजना छ ।’ केसीले भने ।   स्काई क्याफेका लागि मात्रै झण्डै १ करोड रुपैयाँ लगानी  भएको द क्लिफका प्रबन्धक सफल थापाले बताए । उनका अनुसार प्रतिव्यक्ति २ हजार ५०० रुपैयाँ शुल्क राखिएको छ । तर एक पटकमा दुई जना हुनुपर्ने हुँदा पाँच हजार रुपैयाँ शुल्क तोकिएको छ । १२० मिटरको लम्बाइका फालमे तारहरू राखेर क्याफे सञ्चालन गरिएको छ । अहिले शुरूवात मात्रै भएका कारण आगामी दिनमा थप साहसिक बनाउनका लागि अरू विकल्पका वारेमा समेत छलफल भइरहेको सञ्चालक केसीले बताए ।  कोभिडको कारण सुस्ताएको पर्यटन व्यवसायमा विदेशी पर्यटकको चाप कुनै पनि क्षेत्रमा छैन । तर द क्लिफलाई आन्तरिक पर्यटककै कारण व्यवसायमा समस्या भने आएको छैन ।  ‘कालिगण्डकी करिडोरसँगै जोडिएको यो कम्पनीले पोखरा आसपासका क्षेत्र र मुक्तिनाथलाई आधार बनाएर पर्यटक आकर्षण बढाउने योजना छ ।’  उनले भने, ‘नेपाली लगायत सार्क मुलुकका पर्यटक अहिले  आईरहनु भएको छ । कोभिड पछि अन्य मुलुकका पर्यटक समेत यस स्थानमा ल्याउन प्रयास गर्छौ ।’   निषेधाज्ञा भए पनि स्मार्ट लकडाउनका कारण स्वास्थ्य सुरक्षा सतर्कता अपनाइएको र बजार पनि पहिलेको जस्तै ठप्प अवस्थामा नरहेका कारण भिडभाड नहुने गरी साहसिक खेलमा आएका पर्यटकले मनोरञ्जन लिन पाएको कम्पनीको भनाई छ ।   रिसोर्ट पनि सञ्चालनमा यहाँ आउने पर्यटकको सुविधालाई ध्यानमा राखेर द क्लिफले यसै स्थानमा ४० रोपनी क्षेत्रफलमा रिसोर्ट समेत सञ्चालन गरिरहेको छ ।   २१ वटा टेन्ट रहेको रिसोर्टमा ११ ओटा डिलक्स र १० ओटा स्ट्याण्डर टेन्ट रहेका छन ।  डिलक्स टेन्टको शुल्क प्रति टेन्ट ३ हजार ५०० रुपैयाँ र  स्ट्याण्डर टेन्टको शुल्क प्रति टेन्ट  २ हजार ५०० रुपैयाँ रहेको प्रवन्धक थापाले बताए ।  रिसोटमा विभिन्न प्रकारका खानाका परिकार छन् । तर हाल विदेशी पर्यटक नहुँदा आन्तरिक पर्यटकलाई लक्षित गरि नेपाली खाजा र खानाको व्यवस्था मात्रै भएको पनि उनले बताए ।