सुरक्षित कारोबार र कर्जा विविधीकरण विषयक कार्यक्रम सम्पन्न

जेठ १८, काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र अन्तरराष्ट्रिय वित्त निगम (आईएफसी/ विश्व बैंक) को संयुक्त आयोजनामा सुरक्षित कारोबार र कर्जा विविधिकरण विषयमा मंगलवार काठमाडौंमा कार्यक्रम आयोजना गरिएको छ ।  नेपालमा निजी क्षेत्र–विशेषगरी घरेलु, लघु, साना तथा मझौला उद्यमहरुलाई वित्तीय साधनको पहुँचमा कठिनाइ हुनुले उनीहरुको विकास एवं विस्तारमा बाधा पुगिरहेको गुनासो आइरहेको सन्दर्भमा कर्जा विविधिकरणलाई प्रोत्साहन गर्न एवं वित्तीय पहुँच अभिवृद्धिका गर्ने उद्धेष्यका साथ कार्यक्रम आयोजना गरिएको हो । नेपालमा लघु, घरेलु, साना तथा मझौला उद्यमहरुको क्रेडिट ग्याप करीब ३ शमलव ६ अर्ब रुपैयाँ रहेको विश्व बैंकको तथ्याङ्कले देखाएको छ । विकास निर्माणको करीब ९८ प्रतिशत हिस्सा ओगटेको र करीब ५७ प्रतिशत श्रमशक्तिलाई रोजगारी प्रदान गरिरहेको यस क्षेत्रको महत्वपूर्ण योगदान रहँदा रहँदै पनि घरजग्गा धितोको अभावका कारण कर्जा र वित्तीय पहुँचमा समस्या झेल्न परिरहेको छ ।  कार्यक्रममा आईएफसी तथा विश्व बैंकका नेपालकालागिआवासीय प्रतिनिधि बाबाकर एस. फायले अहिलेको उन्नत बजारमा चलसम्पत्तिलाई बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्राप्तिका लागि धितोको प्राथमिक आधारको रुपमा प्रयोग गर्ने गर्ने गरिएको बताए । यसैगरी सिबिफिनका अध्यक्ष पवनकुमार गोल्यानले चलधितो सम्पत्तिको अवधारणाले लघु, साना तथा मझौला उद्यमी तथा व्यवसायी, कृषि व्यवसायी कारोबारी एवं पूर्वाधार विकास कम्पनीहरुको वित्तीय पहुँचसहित विकास एवं विस्तारमा महत्वपूर्ण सहयोग गर्ने बताए । उनले लघु, घरेलु, साना तथा मझौला उद्यम(एमएसएमई) र संस्थागत क्षेत्रको वित्तीय पहुँच बढाउन एवं वित्तीय समावेशीकरण र आयात प्रतिस्थापनको वृहत उद्देश्य प्राप्त गर्न देशका सम्पूर्ण सरोकारवाला निकायले एकजुटभएर चलधितो सम्पतिको अवधारणालाई प्रोत्साहन गर्नुपर्ने पनि बताए । कार्यक्रममा अन्तरराष्ट्रिय वित्त निगमका विषयविज्ञहरुले सुरक्षित कारोबार र वित्तीय पहुँच विस्तारका व्यवसायिक उदाहरणहरु प्रस्तुत गर्दै नेपालमा धितो दर्ताको भूमिका र सुरक्षित कारोबार तथा वित्तीय पहुँचलाई अझ प्रभावकारी र सुदृढ बनाउन के गर्न सकिन्छ भन्ने विषयमा कार्यपत्रहरु प्रस्तुत गरेका थिए ।  कार्यक्रमा विभिन्न बैंक तथा वित्तीय संस्थाको प्रतिनिधिहरु सहभागिता रहेको थियो । 

सम्बन्धित सामग्री