१० अर्ब बराबरको रिपो जारी गर्दै राष्ट्र बैंक, ब्याजदर घटाउने र कर्जा विस्तार गर्ने लक्ष्य

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्ने भएको छ । यतिबेला माघ ५ गतेबाट लागू हुने गरी १४ दिन अवधिको रिपो जारी गर्न लागेको हो । बैंकले  यसअघि गत पुस १४ गते ५० अर्ब रुपैयाँ बराबरको रिपो जारी गरेको थियो । उक्त रिपो वर्षकै सबैभन्दा कम ब्याजदर ८ प्रतिशत हाराहारीमै विक्री भएको थियो । बैंक तथा वित्तीय संस्थाहरूले माघ १ गतेबाट लागू  हुने गरी बचतको ब्याजदर घटाइसकेका छन् । अब कर्जाको ब्याजदर घटाउने स्थिति सृजना गरेर कर्जा विस्तारको लक्ष्य हासिल गर्न राष्ट्र बैंकले मौद्रिक उपकरणहरू चलाएको बैंकको भनाइ छ । अहिले बैंंकहरूसँग तरलता सुविधा भए पनि केही बैंकसँग कर्जा विस्तार गर्न सक्ने क्षमता नभएको राष्ट्र बैंकका सूचना अधिकारी नारायण पोखरेलले बताए । अर्कोतर्फ अहिलेकै ब्याजदरमा कर्जा विस्तार हुन नसक्ने पनि राष्ट्र बैंकको निष्कर्ष छ । त्यसैले ब्यजादर घटाउन र मौद्रिक नीतिले लक्षित गरेको कर्जा विस्तारको लक्ष्य हासिल गर्न राष्ट्र बैंकले मौद्रिक उपकरण चलाएको पोखरेलको भनाइ छ । पुस १४ गते जारी ४५ दिन अवधिको रिपो आगामी माघ २९ गतेसम्म परिपक्व हुँदै छ । त्यस्तै आज जारी भएको रिपो भने माघ १९ गते नै परिपक्व हुनेछ ।