विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बैंक मात्रै नाफामा हुनु अर्थतन्त्रका लागि राम्रो नभएको बताएका छन् । उनले बैंकसहित केही अन्तरराष्ट्रिय उद्योगी पनि नाफामै रहेको तर त्यसभन्दा बाहेकका उद्योगी व्यवसायी, घरेलु तथा लघु उद्योग घाटामा चल्नुपर्ने अवस्थाप्रति चिन्ता व्यक्त गरे ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको २४औं तथा महिला उद्यम समितिको २०औं वार्षिक साधारणसभालाई बुधवार सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् । मुलुकको आर्थिक अवस्था झन् झन् कमजोर बन्दै गएको र रेमिट्यान्सले मात्रै मुलुक चल्नुपर्ने अवस्था आयो भन्नु सबैका लागि दु:खद रहेको उनको भनाइ थियो ।
‘आर्थिक अवस्था कमजोर बन्दै गएको छ, रेमिट्यान्सको भरमा मुलुक चल्दै छ,’ कार्कीले भने, ‘आयात बढेको तथ्यांक देखिइरहेका छन्, अर्थतन्त्र समस्याको डिलमा पुगेको छ ।’
तीनै तहको सरकार मिलेर घरेलु र लघु उद्यमीलाई प्रोत्साहनका कार्यक्रममा प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए । मुख्यमन्त्री कार्कीले संघीय सरकारले बनाउने नीतिमै साना तथा घरेलु, लघु, कुटीर उद्योगलाई सहयोग गर्ने कार्यक्रम समेटिनुपर्ने बताए ।
प्रदेशको आगामी बजेटमा साना उद्यमीले उत्पादन गरेका सामग्रीको बजारको सुनिश्चितता गर्न बजारको खोजीसम्बन्धी अध्ययन अनुसन्धानमा प्रदेश सरकारले सहयोग गर्न सक्ने आश्वासन उनले दिए । कार्यक्रममा कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौला, मन्त्रालयका सचिव, उच्च पदस्थ कर्मचारीको उपस्थिति थियो । साधारणसभामा चारजना लघु उद्यमीलाई सम्मानित गरिएको थियो ।
सम्मानित हुनेमा पथरी शनिश्चरे–२ स्थित न्यू गोर्खाली पाउरोटी उद्योगका सञ्चालक तुलसी ढकाल, एकसय जनालाई रोजगारी दिन सफल व्यवसायी चामुण्डा गार्मेन्टका सञ्चालक नरेश खत्री, विराटनगरको बरगाछीमा ब्यूटीपार्लर सञ्चालन गर्दै आएकी सायदा तबसुम, विराटनगर–१० स्थित पोखरेल कुटानी पिसानी मिलकी सञ्चालक यमुना पोखरेल छन् ।