राष्ट्र बैंकको सर्तसामु झुक्यो हिमालयन, गर्यो इन्भेष्टमेन्टसँग मर्ज हुने औपचारिक निर्णय

हिमालयन बैंकको संचालक समितिको बैठकले नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जर गर्ने प्रस्ताव बार्षिक साधारणसभामा लैजाने निर्णय गरेको छ। बैंकको यहि पुष ४ गते आइतबार बसेको संचालक समितिको बैठकले नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जर गर्ने प्रस्ताव साधारणसभामा लैजाने निर्णय गरेको हो। ७ मध्ये ४ संचालक समीति सदस्यले नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जर गर्ने प्रस्ताव साधारणसभामा लैजाने प्रस्ताव गरेपछि बहुमतको आधारमा उक्त निर्णय भएको हो। संचालक समिति सदस्य सुनिल थापा, आशिष शर्मा, पब्लिक डाइरेक्टर विजय बहादुर श्रेष्ठ र हबिब बैंकको प्रतिनिधित्व गर्ने फैसल एन लालानीले नेपाल इन्भेष्टमेन्ट बैंकसँग जसरी पनि मर्जरमा जानुपर्ने प्रस्ताव साधारणसभामा लैजानु पर्ने भनेपछि बहुमतको आधारमा यस्तो निर्णय भएको हो। हिमालयन बैंकको यहि बिहिबार अर्थात पुष ८ गते बस्ने संचालक समितिको बैठकले साधारणसभाको मिति तथा संचालक समितिले गरेको नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जाने प्रस्तावमा हुने निर्वाचन मोडालिटीबारे निर्णय गर्नेछ।नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जर गर्ने बिषयमा आफुहरुलाई निर्णय लिन केहि दिन लाग्ने भन्दै कर्मचारी संचय कोषले म्याद थपको माग गरेपछि बहुमतको आधारमा साधारणसभामा मर्जर प्रस्ताव लैजाने निर्णय भएको हो। यो पनि: हिमालयन बैंकका संचालकसँग मागियो मर्जरबारे आधिकारीक धारणा, संचय कोषलाई अख्तियारको डरदुई पटकसम्म म्याद थप गरिदिएको नेपाल राष्ट्र बैंकले यस पटक पनि सर्त राखेपछि बार्षिक साधारणसभामा मर्जर प्रस्ताव लैजानुपर्ने बाध्यात्मक स्थिति बनेको स्रोतले जनाएको छ। स्रोतकाअनुसार मर्जर प्रक्रियामा रहेका हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकले एकीकृत कारोबार गर्ने मिति तय नगर्दासम्म हिमालयन बैंकले प्रस्ताव गरेको लाभांश वितरणको लागि स्वीकृति नदिने नेपाल राष्ट्र बैंकको सर्तका कारण मर्जरमा जाने निर्णय साधारणसभामा प्रस्ताव गर्नुपर्ने बाध्यात्मक अवस्था बन्न पुगेको हो। नेपाल राष्ट्र बैंकले यस्तो सर्त राखेकाले तथा मर्जर पछि आफ्नो स्वामित्व बेच्दा थोरै कर तिर्नुपर्ने हबिब बैंकको स्वार्थ मिलेकाले अहिले नै नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जर गर्ने प्रस्ताव साधारणसभामा लैजाने बिषयमा बाध्यात्मक रुपले सहमति जुटेको हो। संचालक समितिले नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जाने प्रस्ताव साधारणसभामा लैजाने निर्णय गरेपनि साधारणसभाबाट फरक सिनारियो बन्न सक्ने बताईएको छ। मर्जर पश्चात बन्ने बैंकको नाम हिमालयन नेपाल इन्भेष्टमेन्ट बैंक हुने छ। अध्यक्ष इन्भेष्टमेन्ट बैंकका तर्फबाट पृथ्वीबहादुर पाँडे हुने छन् भने प्रमुख कार्यकारी अधिकृत हिमालयन बैंकको तर्फबाट अशोक राणा हुने छन्।

सम्बन्धित सामग्री