नेपाल लाइफ इन्स्योरेन्सले ल्यायो ‘नेपाल लाइफ आईइन्स्योर’ जीवन बीमा योजना

काठमाडौं (अस) । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘नेपाल लाइफ आईइन्स्योर’ जीवन बीमा योजना ल्याएको छ । कम्पनीले न्यून लगानीमा अधिक जोखिम वहन हुनुका साथै लगानीको सुनिश्चितता हुनु यो योजनाको मुख्य विशेषता रहेको बताएको छ । सो जीवन बीमा योजना मुनाफामा सरिक नहुने म्यादी जीवन बीमा योजना हो । १८ वर्षदेखि ६० वर्ष उमेर समूहका व्यक्ति यो जीवन योजनामा सामेल हुन सक्नेछन् । न्यूनतम ५ वर्षदेखि अधिकतम २५ वर्षसम्मको बीमा अवधि लिन सकिने उक्त योजनाको बीमा समाप्ति अधिकतम उमेर भने ६५ वर्ष कायम गरिएको छ । आफ्नो आम्दानी वा सुविधाका आधारमा वार्षिक, अर्धवार्षिक, त्रैमासिक, मासिक र एकमुष्ठ तरिकाले बीमा शुल्क भुक्तानी गर्न सकिने कम्पनीले बताएको छ । कम्पनीका अनुसार न्यूनतम बीमांक रकम एक लाख रुपैयाँदेखि अधिकतम बीमांक रकम एक करोड रुपैयाँसम्मको बीमा गर्न सकिनेछ । बीमा शुल्क तिर्ने तरिका अनुसार छूट वा थप शुल्कको व्यवस्था गरिएको छ । वार्षिक ३ किस्ता बीमाशुल्क भुक्तानी गर्नुका साथै बीमा प्रारम्भ मितिले ३ वर्ष पूरा भएपछि समर्पण मूल्य प्राप्त गर्न सकिनेछ । तर यस जीवन बीमा योजनामा कर्जा सुविधा उपलब्ध नभएको कम्पनीले बताएको छ । १८ वर्षदेखिका बीमितले अतिरिक्त बीमाशुल्क तिरेर बीमांक रकम बराबर अधिकतम एक करोड रुपैयाँसम्मको दुर्घटना मृत्यु लाभ ऐच्छिक सुविधा लिन सकिने जानकारी कम्पनीले दिएको छ ।