रूसले युक्रेनमाथि आक्रमण गरेपछि विश्व अर्थव्यवस्थामा संकट पर्न सक्ने आशंका गर्न थालिएको छ । युद्ध शुरू भएपछि रूसमा ब्याजदर २० प्रतिशत पुगेको छ भने रूसी मुद्रा रुबलको भाउ इतिहासमै सर्वाधिक घटेको छ । सुन र डलर थुपारेको रूसले यूरोप र अमेरिकाको प्रतिबन्ध बेवास्ता गर्दै युद्धलाई निरन्तरता दिइरहेको छ र यो युद्ध चाँडै अन्त्य हुने लक्षण पनि कमै देखिएको छ । सन् १९४५ मा सकिएको दोस्रो विश्व युद्धपछि यूरोपमा खासै ठूला युद्ध भएका छैनन् । यतिखेर रूसले युक्रेन युद्धमा हारे पनि वा जिते पनि तत्काल समस्या समाधान हुन सक्ने देखिँदैन । त्यसैले यो युद्धको असर लामो समयसम्म रहने धेरैको अनुमान छ ।
युद्धको अर्थशास्त्र बुझ्न सके एकातिर अर्थतन्त्रको जोखिम कम गर्न सकिन्छ भने अर्कोतर्फ लाभको बाटो पनि फेला पर्न सक्छ ।
नेपाली भूमिबाट निकै टाढा युद्ध भइरहे पनि यो युद्धको बाछिटा नेपालसम्म आउन थालिसकेको छ र यसले यहाँको अर्थतन्त्रमा पनि गम्भीर असर पार्न सक्ने देखिएको छ । वास्तवमा युद्ध सम्मान, सुरक्षा र अस्मिताको लागि मात्र होइन, व्यापार, उद्योग पैmलाउन र मुनाफा कमाउनका लागि पनि हुने गर्छ । प्रथम र द्वितीय विश्व युद्ध बजारको खोजी र विस्तारकै लागि भएको हो । त्यसैले युद्ध र अर्थतन्त्र परस्पर सम्बद्ध हुन् । यो युद्ध कसैका लागि मुनाफाको विषय हुन्छ भने कसैका लागि घाटामात्र होइन, अर्थतन्त्र पूरै ध्वस्त बन्ने आधार पनि बनिदिन्छ । युद्ध भन्ने बित्तिकै हतियारको उत्पादन र विक्रीको कुरा आइहाल्छ । यसले अर्थतन्त्र विस्तारमा सहयोग गर्छ भनिन्छ । अमेरिका, रूस र युक्रेन विश्वमै सर्वाधिक हतियार विक्रीकर्ता मुलुक हुन् । युक्रेनमा अहिले भइरहेको युद्धमा यी यी तीनओटै मुलुक प्रत्यक्ष र अप्रत्यक्ष रूपमा जोडिएका छन् ।
यस्तो युद्ध विपन्न मुलुकका लागि ठूलो समस्या बनेर आउने गरेको देखिन्छ । यद्यपि यसबाट केही फाइदा पनि लिन नसकिने होइन । युक्रेनमाथि आक्रमण हुनासाथ अहिले सुनको मूल्य निकै बढेको छ जसले नेपालमा सुन विक्रीमा कमी आउने देखिन्छ । त्यसले डलर सञ्चितिमा सकारात्मक प्रभाव पार्न सक्छ । यस युद्धले विश्वमै मन्दी ल्याउन सक्ने विश्लेषण पनि गरिएको छ । यदि रूस–युक्रेन युद्धले विश्वव्यापी मन्दी ल्यायो भने नेपालले विप्रेषण आय गुमाउनुपर्ने हुन्छ । यसो भएमा नेपालको अर्थतन्त्रमा बहुआयामिक असर पर्ने निश्चित छ । विश्व युद्धको अर्थशास्त्रको यो जटिलता नेपालले चनाखो भई विश्लेषण गर्नुपर्ने हुन्छ ।
नेपालको अर्थतन्त्र यसै पनि संकटाभिमुख देखिन्छ । यस युद्धले थप जटिलता निम्त्याउन सक्ने भएकाले सतर्कता अपनाउनु बुद्धिमानी हुन्छ । युक्रेनबाट ठूलो परिमाणमा सूर्यमुखीको तेल, तोरीको दाना आदि आयात हुन्छ । यही कारण देखाएर बजारमा यसको मूल्य वृद्धि हुन सक्छ । यसमा सरकार सतर्क हुनुपर्छ । यसको अर्को सकारात्मक पाटो पनि छ । भारतले सूर्यमुखी तेलमा उच्च भन्सार लगाएपछि नेपालको बाटो भएर त्यहाँ यसको निर्यात हुन थाल्यो । नेपालले साफ्टा अन्तर्गतको सुविधा पाउने भएकाले यसको तत्कालिक लाभ लिन व्यापारीले ठूलो परिमाणमा कच्चा पदार्थ मगाए । बन्द भएका तोरी मिलसमेत सञ्चालनमा आएर पाम र सूर्यमुखी तेल प्रशोधन गरी निर्यात गर्न थाले । भारतले ४० प्रतिशत भन्सार घटाएर ५ प्रतिशतमा झारेपछि नेपाली व्यवसायीले तेल निर्यात गर्न सकेनन् । ठूलो परिमाणमा स्टक रहेको त्यो तेल अहिले भारत निकासी गर्ने अवसर मिलेको छ । यो स्टक रहँदासम्म हुने भए पनि युद्धका बेला अन्य अवसर वा नेपाली वस्तुको माग आउन सक्छ । त्यसैले यस्तो अवसरका लागि व्यवसायी चनोखो हुनुपर्छ ।
युद्ध होस् वा शान्ति व्यवसायीले व्यवसायको सम्भावना खोज्ने हो । यो युद्ध चाँडै अन्त्य हुने सम्भावना देखिँदैन न त यसले विश्वयुद्धकै रूप लिन सक्छ । तर, युक्रेनले सजिलै पराजय नस्वीकार्ने र रूसले आक्रमण नरोक्ने सम्भावना बढी देखिन्छ । त्यही कारण यूरोपमा ग्यासको आपूर्ति रोकिने र यसले पेट्रोलियम पदार्थको भाउ उच्च रूपमा वृद्धि हुने सम्भावना छ । सन् २००८ को संकटमा यसको भाउ उच्च हुँदा अमेरिकालगायत देशले जैविक डिजेललाई प्राथमिकता दिए । यसले खाद्यान्नको भाउ निकै महँगो बनाएको थियो । यो युद्धले पनि त्यस्तै परिस्थिति ल्याउन सक्छ । नेपालका लागि जलविद्युत्को उपयोग गर्ने यो ठूलो अवसर हुन सक्छ । युद्ध सिपाही र हतियारले लडिन्छ तर त्यसको अर्थशास्त्रीय प्रभाव भने बहुआयामिक हुन्छ । नेपाल जस्तो परनिर्भर अर्थतन्त्र भएको मुलुकले युद्धको अर्थशास्त्र बुझेर त्यसअनुसार रणनीति बनाउन अध्ययन गर्नु बुद्धिमानी हुनेछ । युद्धको अर्थशास्त्र बुझ्न सके एकातिर अर्थतन्त्रको जोखिम कम गर्न सकिन्छ भने अर्कोतर्फ लाभको बाटो पनि फेला पर्न सक्छ ।