नमुना कृषि गाउँ तीन वर्षदेखि बाँझै

कृषिका लागि वर्गीकृत जमिन लगातार तीन वर्ष जमिन बाँझै राख्नेलाई उत्पादन अनुमानका आधारमा एक लाख रुपियाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ। भूउपयोग क्षेत्र वर्गीकरण परिवर्तन गरेको अवस्थामा त तीन लाख रुपियाँसम्म हुन्छ।

सम्बन्धित सामग्री

अनियमितता छोप्न रातारात काम

भम्ता–खोरडा मुख्यमन्त्री नमुना कृषि गाउँमा भएको अनियमितताको ढाकछोप गर्न रातारात संरचना दुरुस्त पार्ने र जग्गा आवादी रहेको देखाउने प्रयास गरिएको छ । तर चार दिनको प्रयासमा पनि ढाकछोपको कार्य पूरा भएको छैन । बैतडीको मेलौली नगरपालिका–८, कोटीगाउँको भम्ता–खोरडा मुख्यमन्त्री नमुना कृषि गाउँ तीन वर्षदेखि बाँझो रहेको र आर्थिक अनियमितता भएको विषयमा यही साउन २३ गतेको गोरखापत्र दैनिकमा समाचार प्रकाशित भएको थियो । त्यसको भोलिपल्ट नै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले अनियमितताको छानबिन गर्न भूमि व्यवस्था तथा कृषिमन्त्री विनिता चौधरीलाई निर्देशन दिनुभएको थियो ।

नेपालगञ्ज उपमहानगरद्वारा किसानलाई उन्नत जातका धानको बीउ वितरण

जेठ ७, बाँके । नेपालगञ्ज उपमहानगरपालिकाले नगरक्षेत्रभित्रका किसानलाई सहुलियत दरमा उन्नत जातको धानको बिउ वितरण शुरु गरेको छ । उपमहानगरपालिकाले ५० प्रतिशत अनुदानमा धानको बीउ वितरण शुरु गरेको हो ।  नगर प्रमुख डा धवलशम्शेर राणाले शुक्रवारदेखि शुभारम्भ गरेको कार्यक्रम केही दिनसम्म चल्ने छ । किसानलाई झण्डै १६ मेट्रिक टन धानको बीउ वितरण गर्न लागिएको छ । ५० प्रतिशत अनुदान प्राप्त गर्ने भएपछि धानको बीउ लिन किसानहरुको लाम लागेको छ ।  किसानको आवश्यकतानुसार कम्तीमा ३५ किलोको एक बोरी धानको बीउ उपलब्ध गराउने गरिएको छ । राधा–४, रामधान, बहुगुणे–२ र सावा मन्सुरी सबवन गरी चार किसिमका धानका बीउ वितरण भइरहेको उपमहानगरपालिकाले जानकारी दिएको छ ।  अरब सागरको ‘ताउ-ते’ सामुद्रिक चक्रवातका कारण नेपालगञ्जमा तीन दिनसम्म परेको अविरल झरीपछि यहाँका किसान धानको बेर्ना रोप्न जुटेका छन् । कृषि ज्ञान केन्द्रका अनुसार नेपालगञ्जसहित बाँके जिल्लाभरि यस वर्ष ३६ हजार हेक्टरमा धान खेती हुने आकलन गरिएको छ । शुरुआती चरणमै राम्रो वर्षा भएकाले रोपाइँ सप्रने अपेक्षा गरिएको छ । यहाँ उत्पादन भएको आधा धान चामलमा परिणत गरी कर्णाली लगायत विभिन्न जिल्लामा निर्यात हुँदै आएको केन्द्रले जानकारी दिएको छ ।   नेपालगञ्जसहित बाँके जिल्ला धानबालीमा अत्मनिर्भर भएको जिल्ला हो । जिल्लाका अधिकांश किसानका लागि धानबाली मुख्य आर्थिक स्रोतका रूपमा रहेको छ । धानको उत्पादन वृद्धि गर्नका लागि यहाँ धान ब्लक, धान पकेट तथा स्मार्ट कृषि गाउँ कार्यक्रम पनि लागू भएको छ । यो कार्यक्रमले पनि धानको उत्पादनमा वृद्धि गर्ने बताइएको छ ।   यसका साथै यहाँ यस वर्षदेखि सिँचाइ सुविधा उपलव्ध भएका कारण पनि धानको राम्रो उत्पादन हुने अपेक्षा गरिएको छ । सिक्टा सिँचाइ आयोजनाले किसानका अधिकांश खेतमा बाह्रै महीना सिँचाइ सुविधा पुर्‍याएको छ ।  विगतमा आकाशे पानीको भरमा धान खेती हुँदै आएकामा आयोजनाले नहरमा पानी छोडेपछि बाँकेको नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, राप्तीसोनारी, बैजनाथ र जानकी गाउँपालिकाका खेतीयोग्य जमीन हराभरा हुँदै आएका छन् । रासस

मुख्यमन्त्री उखु कार्यक्रमले किसान लाभान्वित

पूर्वी तथा मध्य नेपालका उखु किसान समयमै भुक्तानी नपाएको पीडामा रहेको बेला पश्चिम नेपालको कञ्चनपुरका किसान उखु खेतीतर्फ आकर्षित भएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले मुख्यमन्त्री नमुना कृषि गाउँ (उखु) कार्यक्रममार्फत उखु खेतीका लागि अनुदानमा बीउ बिजन, मलखाद, यन्त्र तथा उपकरण दिन थालेपछि किसान व्यावसायिक रूपमा उखु खेतीतर्फ आकर्षित भएका हुन् । गत वर्षदेखि सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशभर सञ्चालन गरेको मुख्यमन्त्री नमुना कृषि गाउँ कार्यक्रमअन्तर्गत कञ्चनपुरको बेलडाँडीमा उखु खेती प्रवद्र्धन गरिएको छ । उखु खेतीबाट राम्रो आम्दानी हुने र कार्यक्रममार्फत सिँचाइ सुविधादेखि यन्त्र उपकरण पाएकोले उखु खेतीका लागि निक्कै सहज भएको उखु किसानको भनाइ छ ।