‘कोरोनाका कारण पर्यटन र चलचित्र क्षेत्र सङ्कटमा’

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले कोरोनाका कारण पर्यटन र चलचित्र क्षेत्र सङ्कटमा परेको बताउनुभएको छ ।  द स्काइ मुभिज प्रालि र उमा फिल्मस् प्रालिले संयुक्त रुपमा निर्माण गरेको ‘त्यो तिम्रो चोखो प्रेमको नजर...’ म्यूजिक भिडियोको आज यहाँ सार्वजनिक गर्दै उहाँले पर्यटन र चलचित्र क्षेत्र कोरोनाका कारण नराम्ररी प्रभावित हुन पुगेको बताउनुभएको हो । “तङ्ग्रीन लागेको पर्यटन र चलचित्र क्षेत्र फेरी कोरोनाको मारमा परेको छ, पर्यटन र चलचित्र क्षेत्रमा परेको समस्या समाधानका लागि महासङ्घले पहल गर्छ”, उहाँले भन्नुभयो ।           नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले स्वास्थ्य मापदण्डलाई पालना गर्दै चलचित्र क्षेत्रलाई अगाडि बढाउन सरकारले विशेष योजना ल्याउनुपर्ने बताउनुभयो । विगत १४ महिनादेखि नेपालको चलचित्र क्षेत्र अस्तव्यस्त बन्दै गएको उहाँको भनाइ थियो ।