सडक निर्माणमा दबाब दिन स्थानीयवासी आन्दोलित

विराटनगर । काम नसकी बीचमै अलपत्र छाडिएको हुलाकी सडक निर्माण तत्काल शुरू गर्न माग गर्दै मोरङ कटहरीका स्थानीयवासी आन्दोलित भएका छन् । काम थालेको वर्षौं बित्दासमेत हुलाकी सडक निर्माण पूरा नभएपछि स्थानीयवासीले आइतवारदेखि जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिन थालेका छन् । शुक्रवार स्थानीयवासीले जिल्ला प्रशासन कार्यालय मोरङमा ज्ञापनपत्र दिँदै आन्दोलनबारे जानकारी दिएका थिए । हुलाकी सडक अन्तर्गत मोरङमा पाँचओटा निर्माण कम्पनीले काम गरिरहेका छन् । नागरिक संघर्ष समितिको अगुवाइमा स्थानीय राजनीतिक दलका नेता, पूर्व जनप्रतिनिधि र स्थानीयवासी धर्नामा बसेका हुन् । आफ्ना माग पूरा नभएसम्म हरेक दिन बिहान १० देखि साँझ ५ बजेसम्म धर्नामा बस्ने उनीहरूले बताएका छन् । धर्नामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र कटहरी उद्योग वाणिज्य संघका पदाधिकारीले पनि ऐक्यबद्धता व्यक्त गरेका छन् । हुलाकी सडक समयमै निर्माण नहुँदा मोरङका रतुवामाई, सुनवर्षी, रंगेली नगरपालिकाका साथै धनपालथान र कटहरी गाउँपालिकाका सर्वसाधारणले सास्ती खेप्दै आएको आन्दोलनका अगुवा मृत्युञ्जयकुमार झाले बताए । उनले भने, ‘हिउँदमा सडकको धूलो र बर्खामा हिलोका कारण यस क्षेत्रका बासिन्दा निकै पीडित छन् ।’ राष्ट्रिय गौरवको आयोजनामा पर्ने हुलाकी राजमार्गको काम शुरू भएको ४ वर्ष भइसक्दा पनि पूरा हुने संकेत छैन । मोरङको रतुवा खोलादेखि विराटनगरको केशलिया खोलासम्मको ४४ किलोमिटर सडक खण्डमा ८० प्रतिशत खर्च भइसक्दा भौतिक प्रगति करीब आधा मात्र भएको बताइएको छ । रू. ३ अर्ब ६० करोड लागतमा ४४ किलोमिटर सडक निर्माणको ठेक्का लिएका निर्माण व्यवसायीले ८० प्रतिशत रकम खर्च गरे पनि भौतिक प्रगति भने ४० प्रतिशत मात्र भएको बताइएको छ । २०७६ सालमा ३ वर्षभित्र चार लेन सडक निर्माण गर्ने ठेक्का सम्झौता भए पनि म्याद थपेर २०८० कात्तिकसम्म पुर्‍याइएको थियो । तर अहिलेसम्म १६ किलोमिटर सडक मात्र कालोपत्र भएको छ ।