ठूला पूर्वाधार निर्माणमा प्राथमिकता – मन्त्री नेम्वाङ

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार गठनपछि देशमा विकासको लहर छाएको बताउनुभएको छ ।           पोखरा महानगरपालिका–१३ र मादी गाउँपालिका–५ जोड्ने गरी पोखरा सिक्लेस सडकखण्डको विजयपुर खोलामाथि नवर्निमित पक्की मोटरेबल पुलको आज उद्घाटन गर्दै उहाँले पुल, सडकलगायत ठूला पूर्वाधार विकासका माध्यमबाट जनतालाई सुविधा दिन सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।           ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा बनाउने अभियानभित्रको महत्वपूर्ण पक्ष भौतिक पूर्वाधारलाई सरकारले प्राथमिकता दिएको बताउँदै उहाँले विगतमा वर्षौंसम्म बन्न नसकेका विकास आयोजना वर्तमान सरकार आएपछि तीव्र गतिमा अघि बढेको उल्लेख गर्नुभयो ।