बहुराष्ट्रिय कम्पनी गूगल २३ औं वर्षगाँठ मनाउँदै

असोज ११, क्यलिफोर्निया( अमेरिका)  । अमेरिकी सूचना प्रविधि कम्पनी तथा इण्टरनेट सर्च इञ्जिन गूगल, शब्द सायदै कसैले नसुनेको होला । हुन त गूगल आजभोलि हरेक क्षेत्रका लागि अपरिहार्य दैनिकी बनिसकेको छ । कुनै सामग्री खोज्न पर्‍यो वा समाचार हेर्नुपर्‍यो वा गीत नै सुन्नु पर्‍यो  वा कुनै स्थानको बारेमा जान्न मन लाग्यो । यी र यस्तै कुुराको खोजी गर्नु पर्‍यो भने सबैभन्दा शुरुमा प्रयोग गर्ने सर्च इञ्जिन नै हो गूगल । दैनिकीमा सहजीकरण भएरै होला, आजभोलि कतिपयले त गूगललाई, गूगल बाबा पनि भन्न थालेका छन् ! हामी व्यावसायिक जिन्दगीदेखि लिएर, शैक्षिक, समाजिक, आर्थिक हरेक क्षेत्रमा गूगलको सहयोग लिइरहेको हुन्छौं । यसरी गूगलले हाम्रो दैनिकी सहज बनाउन थालेको आज २३ वर्ष पुगेको छ । अर्थात्  सोमवार गूगलको २३ औं जन्मदिन । सर्च इञ्जिन गूगल २३ औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले सेप्टेम्बर २७  मा जन्मदिन मनाउने गरेको छ । तर गूगलको शुरुवात भने १९९८ को सेप्टेम्बर ४ मा भएको थियो ।    जन्मदिनको अवसर पारेर गूगलले सोमवार आफ्नो डूडल परिवर्तन गरेको छ, जसमा गूगलको लोगोमा चकलेट केक, स्प्रिङकल्स र मैनबत्ती राखेर रंगीचंगी बनाइएको देख्न सकिन्छ । स्ट्यानफोर्ड विश्वविद्यालयमा अध्ययनरत सर्गे ब्रिन र ल्यारी पेज मिलेर गूगल सर्च इञ्जिनको शुवात गरेका हुन् । ती दुई जना कम्प्यूटरका विद्यार्थीले सर्च इञ्जिन बनाउने सोचका साथ शुरु गरेको परियोजना अहिले आएर विश्वको सबैभन्दा ठूलो सर्च इञ्जिन बन्न पुगेको छ  । गूगलमा प्रत्येक दिन विश्वभर १५० ओटा भाषामा सर्च गर्ने गरिन्छ । कम्पनीको हाल विश्वभर २० ओटा डेटा सेन्टर रहेका छन् । ‘विश्वभरका सूचनामा सबैको पहुँच पुर्‍याउने हाम्रो यात्रा जारी रहनेछ,’ कम्पनीले आफ्नो २३ औं जन्मोत्सवको अवसरमा जारी गरेको नोटमा उल्लेख  छ । कम्पनीले इन्टरनेट सर्च, क्लाउड कम्प्युटिङ र विज्ञापनको क्षेत्रमा अत्याधिक लगानी गरिरहेको छ । इन्टरनेटमा आधारित बहुसङ्ख्यक सेवा तथा उत्पादनहरूको आयोजना तथा विकास गरेर आफ्नो विज्ञापन प्रोग्राम एडवर्ड्सको माध्यमबाट नै उक्त कम्पनीले नाफा कमाइरहेको छ । अमेरिकी सूचना प्रविधि कम्पनी तथा इण्टरनेट सर्च इञ्जिन गूगल इङ्क कर्मचारीका लागि विश्वकै उत्कृष्ट बहुराष्ट्रिय कम्पनी पनि हो । अमेरिकास्थित मानव संशाधन परामर्शदाता ‘ग्रेट प्लेस टू वर्क इन्ष्टिच्युट’द्वारा सार्वजनिक सूचीअनुसार गूगल कर्मचारीका लागि विश्वकै सबैभन्दा उत्तम बहुराष्ट्रिय कम्पनी बनेको हो ।एजेन्सीहरु