अध्ययनमा उत्कृष्ट विद्यार्थी नेता पोखरेल भन्छन् : विद्यार्थीले झन् बढी राजनीति गर्नुपर्छ

‘विद्यार्थीले राजनीति गर्नुहुँदैन । राजनीतिमा लागे पढाई बिग्रिन्छ ।’ यो भनाई स्कुल/कलेजका अधिकांश विद्यार्थीहरुले दोहोर्‍याउने भनाई हो । ती विद्यार्थीका अभिभावक वा शिक्षक र ‘जान्नेबुझ्ने’ हरुले बारम्बार यही भनाई दोहोर्‍याइरहँदा किशोर मानसिकतामा राजनीतिप्रति अलगाव हुनु स्वाभाविकै हो । त्यसमाथि विद्यार्थी राजनीतिको नाममा वर्षाैं कलेजमा भर्ना भइरहने तर ठेक्कापट्टा, गुण्डागर्दी र अवसरको खोजीमा हिँडिरहने विद्यार्थी नेतालाई नै ‘नेता’ मानिआएकाहरुमा स्वतः राजनीतिप्रति वितृष्णा उत्पन्न हुने गर्दछ । तर, वास्तविकता त्यस्तो हो त ? राजनीतिमा सक्रिय हुनुको अर्थ आफ्नो पढाई बिगार्ने होइन, बरु ज्ञानको दायरा फराकिलो बनाउनु हो भन्ने उदाहरण बनेका छन्, अखिल (छैठौं) का केन्द्रीय सदस्य पुरन पाखरेल । स्नातक तहमा उत्कृष्ट अंक ल्याएर उतीर्ण गर्नुभएका नेता पोखरेल हालै सम्मानित हुनुभएको छ । पाल्पाको त्रिभुवन क्याम्पसबाट गत वर्ष मानविकी संकाय अन्तर्गत अंग्रेजी विषयमा उत्कृष्ट अंक ल्याएका पोखरेललाई स्थानीय मातृ सेवा स्मृति प्रतिष्ठानले सम्मान गरेको हो । उहाँलाई पूर्वमन्त्री हरि पाण्डेले एक कार्यक्रमबीच सम्मान पत्र प्रदान गर्नुभएको थियो । राजनीतिमा सक्रिय विद्यार्थी नेता पोखरेलले क्याम्पसमै उत्कृष्ट अंक ल्याउन कसरी सम्भव भयो त ? उहाँ भन्नुहुन्छ, ‘मैले पढ्ने कुरालाई कुनै शिलशिला बनाएर होइन, आफूलाई इच्छा लागेको बेला पढ्ने गरेको छु । बाहिरको दौडधुपले पढाईलाई कुनै असर गर्दैन । बरु बुझ्न मद्दत नै गर्छ ।’ विद्यार्थीले राजनीति गर्नुहुँदैन वा राजनीतिले पढाई बिग्रन्छ भन्ने भनाई र बुझाई गलत रहेको पोखरेलको भनाई छ । ‘विद्यार्थी आफैले बुझेर राजनीतिक गर्नुहुँदैन भनेका होइनन्’ पोखरेल भन्नुहुन्छ, ‘शिक्षाका ठेकेदारहरुले विद्यार्थीको मानसिकतामा राजनीति गर्नुहुँदैन भन्ने पारिदिएका छन्, ताकि उनीहरुले विद्यार्थीलाई पढाईबाहेक बाहिरी कुराको ज्ञान नहोस् र आफ्नो लुटको स्वर्ग नभत्कियोस् भन्ने उद्देश्य हो ।’ शैक्षिक क्षेत्रमा हुने गलत गतिविधि बाहिर नजाओस् र विद्रोह नहोस् भन्ने सञ्चालकहरुको उद्देश्य रहने गरेको र त्यसका लागि विद्यार्थीलाई संगठित हुनै नदिने प्रयास गर्ने गरिएको उहाँको बुझाई छ । त्यसो हुन सकेमा मात्र आफूले खाइपाइ आएको लुटको स्वर्ग कायम रहेने पोखरेल बनाउनुहुन्छ । पोखरेले अगाडि भन्नुहुन्छ, ‘जब विद्यार्थी राजनीतिमा सक्रिय हुन थाल्छ, संगठन निर्माण गर्न थाल्छ, त्यसपछि उसले आफ्नो ...