युनिक नेपाल लघुवित्तको एफपीओ बाँडफाँट, भाग्यमानी पाँच जनाले पाए ११ कित्ता शेयर

काठमाडौं । युनिक नेपाल वित्तीय संस्था लिमिटेडको एफपीओ बाँडफाँट भएको छ । कम्पनीले जेठ ११ गतेदेखि १७ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेको एफपीओ बिहीवार विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलमा बाँडफाँट गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३ लाख ७९ हजार ४२५ कित्ता एफपीओ निष्कासन गरेको थियो । सो एफपीओमा १३ लाख ५७ हजार १८० जनाले १ करोड ५४ लाख २७ हजार ५३० कित्ता शेयरका लागि आवेदन दिएका थिए । जसमध्ये १ हजार ४९३ आवेदन रद्द भएको छ भने १३ लाख ५५ हजार ६८७ आवेदन स्वीकृत भएको छ । स्वीकृत आवेदनमध्ये ३७ हजार ९४२ आवेदकलाई १० कित्ताका दरले शेयर बाँडफाँट गरीएको छ । जसमध्ये भाग्यमानी पाँच जनाले थप एक कित्ता गरी ११ कित्ता प्राप्त गरेका छन् । साविक युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेडसँग मर्ज भई बनेको यस कम्पनीमा संस्थापकतर्फ ९४ दशमलव शून्य १ प्रतिशत र सर्वसाधारणतर्फ ५ दशमलव ९९ प्रतिशत शेयर स्वामित्व रहेको छ । नेपाल राष्ट्र बैंकको निर्देशनबमोजिम कम्पनीले कुल जारी पूँजीको ३० प्रतिशत शेयर सर्वसाधारणमा छुट्याउनुपर्ने व्यवस्थाअनुसार एफपीओ जारी गरेको हो । कम्पनीमा मर्ज भएको घोडीघोडा लघुवित्तले पहिले नै आईपीओ जारी गरिसकेको थियो । युनिक नेपालले आईपीओ जारी गर्न बाँकी रहेको शेयर पूँजीलाई धितोपत्र जारी गर्दा आईपीओ नामबाट जारी गर्न नमिल्ने भएकाले सोही आईपीओ जारी गर्न बाँकी रहेको रकमलाई एफपीओ विधिबाट विक्री गरेको हो ।