परम्परागत खेती त्यागेर पाल्पाका किसान च्याउ खेतीतर्फ आकर्षित, वार्षिक १५ लाखसम्म आम्दानी

फागुन ३०, पाल्पा । पाल्पाका किसान पछिल्लो समय च्याउ खेतीतर्फ आकर्षित हुँदै गएका छन् । कम लगानी र प्रतिफल धेरै हुन थालेपछि उनीहरु व्यावसायिक रुपमा च्याउ उत्पादन गर्न थालेका हुन । किसान परम्परागत खेती गर्न छाडेर काठको मुढामा सिताके जातको च्याउखेती गर्न थालेका छन् । सामूहिक तथा व्यक्तिगत रुपमा च्याउखेती गरी गाउँमा प्रशस्त आम्दानी हुन थालेपछि उनीहरुको जीवनशैलीमा परिवर्तन आउन थालेको छ ।  तानसेन नगरपालिका–८, मदनपोखराका ६३ परिवारले सामूहिकरुपमा सिताके च्याउखेती थालेका छन् । प्रतिपरिवार रू. १० हजारका दरले उठाएर च्याउखेती गरेका उनीहरको आर्थिक अवस्थामा सुधार आएको छ । तानसेनका व्यवसायी अनिल घिमिरेले रू. दुई लाख पचास हजार लगानी गरेर च्याउखेती शुरु गरेका छन् । अहिले उनको च्याउ फार्ममा रू. ५० लाख बराबरको लगानी रहेको छ ।  ५०० काठका मुढाबाट च्याउखेती थालेका घिमिरेसँग अहिले पाँच हजार मुढा छन् । घिमिरेले स्थानीय सामुदायिक वनबाट काठका मुढा किनेर सिताके च्याउखेती शुरु गरेका हुन् । उनले वार्षिक रू. १५ लाखसम्म आम्दानी गर्छन् ।  व्यावसायिक रुपमा च्याउखेती गर्न थालेपछि यहाँका किसानले नियमित आम्दानी गर्न थालेका छन् । मदनपोखरा सामूहिक सिताके च्याउ उत्पादक समूहका अध्यक्ष सन्तोष पृथीका अनुसार नियमित आम्दानी भएपछि घरखर्च गरी केही पैसा समूह, सहकारी र बंैकमा बचत गर्न थालेका छन् । परम्परागत खेती गर्दा बाँदर तथा अन्य वन्यजन्तुबाट जोगाउन समस्या हुने गरेकामा अहिले च्याउ खेतीबाट प्रशस्त आम्दानी गर्न सफल भएको अध्यक्ष पृथीले बताए ।  यहाँ उत्पादन भएको च्याउ पाल्पा, बुटवल, चितवन, पोखरालगायत ठाउँमा विक्री वितरण गरिन्छ । रासस