गल्तीलाई अवसरको रूपमा लिनुपर्छ: म्यागी शाह

  निर्देशक, जावलाखेल गु्रप अफ इन्डस्ट्रिज लाइफटाइम एचिभमेन्ट अवार्ड चार दशकदेखि नेपालको व्यावसायिक क्षेत्रमा योगदान दिएकी छु । मेरो जीवन यसैमा व्यतीत भएको छ । अहिलेको सम्मानका लागि निकै आभारी छु । यसले मेरो योगदानको कदर भएको छ । म नेपाल आएको ५० वर्ष भयो । हाम्रो पारिवारिक बिजनेशअनुसार म पनि व्यावसायिक क्षेत्रमा प्रवेश गरेकी हुँ । सन् १९८८ देखि नै महिला उद्यमीको क्षेत्रमा लागेर काम गर्दै छु । हाम्रो कम्पनी डिष्टिलरीमा मात्रै नभई अरू खालका बिजनेशमा पनि छ । मैले रेशम खेती पनि गरेकी थिएँ । १३ वर्षसम्म यो पेशा गरेकी हुँ । त्यसबेला द्वन्द्वको समय भएकाले काम अघि बढ्न सकेन । आत्मनिर्भरताका लागि महिलाहरू व्यवसायमा आउनुपर्छ । त्यसका लागि आँट जरूरी छ । आत्मविश्वास र आँट जगाउनुपर्छ । व्यवसायमा लागेपछि असफल भइन्छ । त्यसलाई नै कारण बनाएर पछि हट्नु हुँदैन । गल्तीलाई अवसरको रूपमा लिएर अझ बढी लगनशील हुनुपर्छ । व्यवसाय गर्दा असफल हुने, गल्ती हुने त हुन्छ नै । त्यसलाई कमजोरी बनाउनु हुँदैन ।   समाजको हरेक पाटोमा महिलाको सहभागिता आवश्यक छ गोरख राणा नायब प्रमुख कार्यकारी अधिकृत स्ट्याण्डर्ड चार्टर्ड बैंक, नेपाल पहिला यस कार्यक्रमको गरिमाबारे हामीलाई त्यति राम्रोसँग थाहा थिएन । यस कार्यक्रमको पहिलो संस्करणले यसबारे गहिराइमा थाहा दियो, त्यसैले नै यो वर्षको कार्यक्रममा पनि मुख्य प्रायोजक बन्न प्रोत्साहन गरेको हो । महिलाहरू साँच्चै क्षमतावान् छन् । कम्पनीहरूले पनि रोजगारी दिने क्रममा महिलालाई पहिलो प्राथमिकतामा राख्दा राम्रो हुन्छ जस्तो लाग्छ । उच्च व्यवस्थापनमा महिला भएका कम्पनीको कार्यसम्पादन राम्रो देखिएको छ । हामीले पनि बैंकमा लैंगिक समानता र समावेशितालाई प्रोत्साहन गरेका छौं । साथै, महिला सशक्तीकरण गर्न पनि बैंक प्रतिबद्ध छ ।      ग्रामीण भेगका महिलालाई स्थान दिनुपर्छ   प्रियांशु कोइराला प्रतिनिधि दराज नेपाल दराज कम्पनीको माध्यमबाट महिला उद्यमीहरूलाई प्रोत्साहन गर्न पाउँदा खुशी छौं । दराजबाट पनि महिला उद्यमशिलतालाई प्रोत्साहनका लागि विभिन्न कामहरू गरिरहेका छौं । महिलाका उत्पादनहरूलाई कमिशन फ्री गरेर मार्केटिङ गरिरहेका हुन्छौं । उहाँहरूले पनि उत्पादनका लागि प्लेटफर्म पाउनु भएको छ । यस्ताखाले कार्यक्रमहरूले महिलाहरूलाई उत्साह र प्रेरणा दिन्छ । अझै पनि ग्रामीण भेग तथा दूरदराजका महिलाहरू आउन सक्नु भएको छैन । उहाँहरूलाई पनि स्थान दिनुपर्छ र माथि ल्याउन हौसला प्रदान गर्नु आवश्यक छ ।