नरदेवी आयुर्वेदिक अस्पतालमा अक्सिजनसहितको एचडीयू र आइसोलेसन केन्द्र

काठमाडौं । कोभिड–१९ बाट संक्रमित बिरामीको उपचारका लागि अक्सिजनसहितको एचडीयू (हाई डिपेन्डेन्सी युनिट) सेवा र आइसोलेसन केन्द्र सञ्चालन गर्ने सम्बन्धमा काठमाडौं महानगरपालिका र नरदेवी आयुर्वेदिक अस्पतालबीच सहमति भएको छ । यसका लागि सोमवार कामपाको तर्फबाट जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवर र नरदेवी अस्पतालका निर्देशक डा. प्रदीप केसीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । कोभिड–१९ को दोस्रो लहरले काठमाडौं उपत्यकामा हरेक दिन संक्रमितको संख्या बढेर अस्पतालले क्षमताले नधानेको अवस्थामा बिरामीलाई समयमै उपचार दिलाउन कामपाले नरदेवी अस्पताललाई आर्थिक सहयोग गर्ने भएको हो ।     सम्झौताबमोजिम अस्पतालले आफूसँग रहेका भौतिक पूर्वाधार, मौजुदा जनशक्ति र अन्य साधनस्रोतको उपयोग गरेर अक्सिजनसहितको एचडीयू सेवा र आइसोलेसन केन्द्र सञ्चालन गर्नेछ भने कामपाले यसका लागि आवश्यक खर्च अनुदानका रूपमा उपलब्ध गराउनेछ । त्यसैगरी कामपाले अस्पतालमा सञ्चालन हुने अक्सिजनसहितको एचडीयू सेवा र आइसोलेसन केन्द्र चलाउन पाइपलाइनसहितको अक्सिजन वितरण प्रणाली विकास गर्ने, अस्पतालको मर्मत सम्भार तथा रङरोगन गर्ने, आवश्यक थप जनशक्ति व्यवस्था गर्नेजस्ता पूर्वाधार तयार गरेर आगामी जेठ १ गतेदेखि सञ्चालनमा ल्याइनेछ । उपचारमा खटिएका जनशक्तिलाई प्रोत्साहन भत्ता, बिरामीका लागि खाना खाजालगायत खर्च महानगरको अनुदान रकमबाट बेहोरिनेछ । पहिलो चरणमा ५० शय्याबाट अक्सिजनसहितको आइसोलेसन सेवा शुरू गरेर यसलाई विस्तार गर्दै लैजाने सहमतिपत्रमा उल्लेख छ । आइसोलेसनको व्यवस्थापनका लागि दुवै पक्षबाट दुई–दुईजना प्रतिनिधि रहने व्यवस्थापन समिति गठन गरिनेछ । समितिले आइसोलेसन सञ्चालन तथा व्यवस्थापन गर्नेछ ।   ‘जोखिम बढ्दो क्रममा छ । बाक्लो बस्ती भएकोले संघीय राजधानी रहेको कामाप क्षेत्र अझ जोखिममा छ । यहाँ बसोवास गर्ने जनतालाई बचाउन साझा प्रयास गरौं,’ कामपाका प्रमुख विद्यासुन्दर शाक्यले भने, ‘हामी सक्छौं, आत्मविश्वास बढाऔं, महामारी नियन्त्रण गर्न स्वास्थ्य क्षेत्रलाई महानगरबाट यथोचित सहयोग हुनेछ ।’ अस्पतालका निर्देशक डा. केसीले महामारीमा आयुर्वेदिक अस्पतालले काम गर्न सक्छ भनेर विश्वास गरेपछि महानगरलाई आफूले अभिभावकका रूपमा पाएको बताए । रासस