साना तथा मझौला उद्यम व्यवसायका लागि एफएनसीसीआई र कोरियन एजेन्सी कोस्मे बीच समझदारी

वैशाख १०, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई) र कोरिया एसएमईज एण्ड स्टार्टअप्स एजेन्सीबीच साना तथा मझौला उद्यम व्यवसायमा सहकार्य गर्ने उद्देश्यका साथ समझदारीपत्रमा हस्ताक्षर भएको छ ।            समझदारीपत्रमा महासंघका अध्यक्ष शेखर गोल्छा र कोरिया एसएमइज एण्ड स्टार्टअप्स एजेन्सीका उपाध्यक्ष मुन ह्वान किमले हस्ताक्षर गरेका हुन् । विशेषगरी अन्तरराष्ट्रिय बजारमा दुवै देशका साना तथा मझौला व्यवसायको प्रतिस्पर्धी क्षमता विकासका लागि नीतिगत सुधारमा पहल, विज्ञता तथा सूचना आदान प्रदान र आर्थिक व्यावसायिक सहयोग अभिवृद्धि गर्ने समझदारीको मुख्य उद्देश्य रहेको छ ।            साना तथा मझौला व्यवसायलाई युग सुहाउँदोरूपमा विकास गरी त्यसमार्फत दुवै देशका जनताको आर्थिक सामाजिक विकासमा सहयोग पुग्ने विश्वास गरिएको छ । एसएमईज र स्टार्टअपको अवसर तथा सम्भाव्यता अध्ययन, अध्ययन भ्रमण, इन्कुवेशन सेन्टर स्थापना, प्रविधि तथा लगानी आकर्षण, साना तथा मझौला उद्यमी र स्टार्टअप्सलाई नीतिगत सुधारमा काम गर्न सक्ने गरी क्षमता विकासमा जोड दिइने छ ।            समझदारीपत्र हस्ताक्षर कार्यक्रमलाई संवोधन गर्ने क्रममा महासंघका अध्यक्ष गोल्छाले एसएमईज र स्टार्टअपको विकासमा यो समझदारीले एउटा महत्वपूर्ण आधार तयार गर्ने विश्वास व्यक्त गरे । साथै उनले यसको अक्षरशः कार्यान्वयनमा महासंघको प्रतिवद्धता पनि व्यक्त गरे । ्      अध्यक्ष गोल्छाले महासंघले ५० स्टार्टअप ५० लगानीकर्ता कार्यक्रम शुरुवात गरेको जानकारी दिंदै नेपालमा स्टार्टअप र एसएमईज क्षेत्रमा लगानी गर्न कोरियन लगानीकर्तालाई आग्रहसमेत गरे। कोरिया एसएमईज एण्ड स्टार्टअप एजेन्सीका उपाध्यक्ष मुनले महासंघसँग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गरे। कोरियाले एसएमईज र स्टार्टअप्समा हासिल गरेको अनुुभव आदान प्रदान गर्न र सहकार्यमा महासंघसँग नजिकमा रहेर कार्यगर्ने प्रतिवद्धता व्यक्त गरे ।           कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, उपाध्यक्ष दिनेश श्रेष्ठ, कोषाध्यक्ष सुकुुन्तलाल हिराचन, नेपाल कोरिया उद्योग वाणिज्य संघका अध्यक्ष किरण शाःखको उपस्थिति थियो भने महासंघका महानिर्देशक गोकर्णराज अवस्थीले महासंघको संक्षिप्त परिचय दिएका थिए ।