सरकारले अन्ततः पाँच महिनापछि हवाई सेवा सुचारु गर्ने निर्णय गरेसँगै उत्साहको सञ्चार भएको छ । कोरोनाभाइरस संक्रमण शून्य हुने सम्भावना नरहेकाले अब ‘न्यू नर्मल’को अवधारणामा जानुको विकल्प नभएको विश्वव्यापी मान्यता पछ्याउँदै सरकारले आर्थिक सामाजिक गतिविधि सुचारु गरेको देखिन्छ । छोटो दूरीको सार्वजनिक बस सञ्चालन सुरु गरेसँगै हवाई सेवा सुचारु गर्नैपर्ने आवश्यकता महशुस भइरहेका बेला सरकारले उचित निर्णय लिएको देखिन्छ । यस निर्णयसँगै हवाई सेवालाई संक्रमणमुक्त बनाउनका लागि भने उचित मापदण्ड, पूर्वाधार र त्यसको कार्यान्वयनमा ध्यान दिनु आवश्यक छ । हवाई यातायातले यात्रुलाई सेवामात्र दिन सकोस्, कोरोना संक्रमण प्रसारको माध्यम नबनोस् ।