मोरङ व्यापार संघ एक्स्पो २०२३ : बुकिङ खुलेको सातदिनमै सबै स्टल बुक

विराटनगर। मोरङ व्यापार संघ एक्स्पो २०२३ को स्टल बुकिङ खोलेको सात दिनमै २५० स्टल सबै बुकिङ भएका छन् । मोरङ व्यापार संघले आयोजना गरेको उक्त एक्स्पोको लागि स्टल थप गर्न माग गरिएपछि ३५ नयाँ स्टल थप्ने योजना रहेको आयोजकको भनाइ छ । वर्तमान आर्थिक शिथिलता चलायमान बनाउने उद्देश्यले संघले पुस ६ देखि १६ गतेसम्म अन्तरराष्ट्रियस्तरको कृषि, पर्यटन र औद्योगिक प्रदर्शनी गर्दै छ । व्यापार संघका अध्यक्ष नविन रिजालले एक्स्पो आयोजनामा करीब ३ करोड ५० लाख रुपैयाँ खर्च हुने अनुमान गरेको बताए । एक्स्पोमा स्वदेशी औद्योगिक र कृषि उत्पादनसहित भारत, बंगलादेश र पाकिस्तानका औद्योगिक उत्पादनको समेत प्रदर्शनी रहने बताइएको छ । व्यापार रणनीतिअन्र्तगत पहिचान गरिएका प्रदेशका कृषि उत्पादन, अन्तर प्रादेशिक व्यापार सम्भावना र सेवालाई अन्तरराष्ट्रिय बजार विस्तार गर्ने एक्स्पोको लक्ष्य रहेको आयोजकको भनाइ छ । १० दिनसम्म चल्ने यो एक्स्पो चार लाखले अवलोकन गर्ने र करीब १५ करोडको कारोबार हुने विश्वास आयोजकको छ ।