तालीम प्रतिष्ठान बनाउने श्रम मन्त्रालयको तयारी

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दीर्घकालीन रोजगारी सृजना तथा शीप विकासका लागि अधिकारसम्पन्न तालीम प्रतिष्ठान बनाउने तयारी अघि बढाएको छ । मुलुकमा लाखौं युवा बेरोजगार भएर बस्नुपर्ने अवस्था अन्त्यका लागि मन्त्रालयले शीप विकास गरी दीर्घकालीन रोजगारी सृजना गर्न अधिकारसम्पन्न स्वायत्त तालीम प्रतिष्ठानको अवधारणा अघि बढाएको हो । ठूलो संख्यामा श्रमबजार प्रवेश गर्ने श्रमशक्तिलाई शीपयुक्त बनाउने, एकीकृत तथ्यांक प्रणाली विकास गर्ने र स्वदेशी तथा विदेशी रोजगारदातासँग समन्वय गरी युवाहरूलाई रोजगारीमा आबद्ध गराउने मन्त्रालयको योजना छ । मन्त्रालयले यसअघि नै विभिन्न सरकारी निकायबाट विधागत रूपमा प्रदान गरिने तालीमको प्रभावकारिता नदेखिएको भन्दै प्रतिष्ठान बनाएर सबै प्रकारका तालीम एकै संस्थाबाट प्रदान गर्नुपर्ने विषय उठाउँदै आएको थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले ललितपुरको भैंसेपाटीस्थित व्यावसायिक तथा शीप विकास तालीम प्रतिष्ठानलाई पुनःसंरचना गरी अधिकारसम्पन्न संस्थाका रूपमा विकास गरिने जानकारी दिए । प्रतिष्ठानमा मंगलवार आयोजित कार्यक्रममा उनले एक दर्जनभन्दा बढी सरकारी निकायले उस्तै प्रकारको तालीम कार्यक्रम सञ्चालन गरे पनि परिणाममुखी नभएकाले गुणस्तरीय र अन्तरराष्ट्रिय मापदण्डको तालीम प्रदान गर्न नीतिगत तथा कानूनी व्यवस्थाका लागि तयारी अघि बढाइएको बताए । मन्त्रालयका सचिव एकनारायण अर्यालले राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारमा माग भएअनुसार शीपयुक्त जनशक्ति उत्पादनका लागि प्रतिष्ठानलाई अधिकारसम्पन्न बनाइनुपर्ने बताए । प्रतिष्ठानलाई गुणस्तरीय, विश्वसनीय र प्रतिस्पर्धी बनाउन नीतिगत, कानूनी तथा संरचनागत सुधार आवश्यक रहेको उनको भनाइ छ । रासस