उमेरको हद र वयस्कता

अभिनेता पल शाह र एक नवयुवती गायिकाको सम्बन्धले शाहलाई जेल पु-याएको छ । तनहुँ जिल्ला अदालतले अभिनेता शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । उही प्रकृतिको मुद्दा नवलपुर अदालतमा समेत छ । यो मुद्दामा दुवैका पक्ष र विपक्षमा प्रदर्शनसमेत गरेर अदालतको न्याय प्रक्रियालाई समेत प्रभावित गर्ने प्रयास भएका थिए । सामाजिक सञ्जालमा आएका प्रतिक्रिया अझ अस्वाभाविक र सुन्न–पढ्न नसकिने खालका समेत थिए । यस्ता क्रिया र प्रतिक्रियालाई नियन्त्रण गर्न सरकार एक हदसम्म सफल रह्यो र अभिनेता शाहविरुद्धको अभियोग स्थापित हुने वा नहुने विषय अब अदालतको फैसलामा निर्भर हुनेछ । यी दुई कलाकारबीचको मुद्दा शारीरिक सम्बन्धसँग जोडिएको छ ।