जुम्लाका किसानलाई स्याउका बिरुवा निर्यात गर्ने चटारो : वार्षिक रू. तीन लाखको बिरुवा विक्री

फागुन १०, जुम्ला । जुम्लाका किसानलाई यो याममा स्याउका बिरुवा बाहिरी जिल्ला निर्यात गर्न चटारो छ । चन्दननाथ नगरपालिका–८ का स्याउ किसान हरिबहादुर रोकायाले यो वर्ष ११ हजार स्याउका बिरुवा छिमेकी जिल्ला हुम्ला पठाएको बताए । उनले भने, ‘स्याउका बिरुवा ट्रकमा नेपालगञ्ज पठाइसकेँ । नेपालगञ्जदेखि जहाजमा हुम्ला लैजाने तयारी भइरहेको छ । हुम्लाका स्थानीय तहको मागअनुसार स्याउका बिरुवा पठाइएको किसान रोकायाले जानकारी दिए ।  उनले बाजुराको बूढीनन्दा गाउँपालिकामा १३ हजार ५०० बिरुवा पठाए । अहिलेसम्म रोकायको नर्सरीमा रहेको ५० हजार बिरुवामा झन्डै २५ हजार बिरुवा निर्यात भइसकेको छ । स्याउको नर्सरी बनाएर बिरुवा हुर्काउन सके पनि पैसाको अभाव हुँदैन । स्याउ नर्सरी आयआर्जनको राम्रो माध्यम बन्दै आएको छ ।  सरकारी दरअनुसार स्याउ नर्सरी धनीले एक बिरुवाको रू. ७७ मा बेच्नुपर्छ  तर नर्सरी धनीले ग्राहकअनुसार केही कम मूल्यमा पनि बिरुवा बेचेको पाइएको छ । गुणस्तरीय स्याउका बिरुवाको माग जिल्लाबाहिर अत्यधिक छ ।  जिल्ला कृषि विकास कार्यालय र स्याउ सुपरजोन कार्यालयले पनि स्याउका बिरुवा किसानलाई उपलब्ध गराउँदै आएको छ । त्यो बिरुवा पनि हामीहरुबाटै जाने गरेको स्याउ किसान रोकायाले बताए । वर्षमा झन्डै रू. तीन लाखको बिरुवा विक्री हुने गरेको छ । निरोगी बिरुवा हुर्काउन सकियो भने खासमा यहाँका स्याउ किसानलाई आर्थिक अभाव हुने छैन ।  गुणस्तरीय बिरुवा उत्पादनमा जोड दिनुपर्छ । यसका लागि पटक–पटक कृषि प्राविधिकको परामर्श लिनु आवश्यक पर्छ । स्याउका बिरुवा पर्याप्त लगाउने हो भने पैसा कमाउन विदेश जानु पर्दैन ।  सामाजिक संघसंस्था र स्थानीय तहले विदेशी जातको स्याउ ल्याउन थालेकाले स्थानीय जातको स्याउ लोप हुने हो कि भन्ने चिन्ता यहाँका स्याउ किसानले बताए । रोेकायाले आधिकारिकरुपमा सिर्जनशील स्याउ नर्सरी फार्म खोली व्यावसायिक रुपमा स्याउका बिरुवा उत्पादन तथा विक्री वितरण गर्दै आएका हुन् ।   पछिल्लो समयमा अन्य स्थानीयवासीले पनि नर्सरी दर्ता गरी सञ्चालनमा  ल्याएका छन् । उक्त कार्यालयका अनुसार स्याउका बिरुवा बाहिरी जिल्ला निर्यात गर्न स्याउ किसान यो याममा लागिपरेका छन् । जुम्ली स्याउका बिरुवा बझाङ, बाजुरा, दैलेख, अछाम, अर्घाखाँची, हुम्ला, कालीकोट, मुगु र जाजरकोटसम्म निर्यात हुने गरेको कार्यालयका बागवानी शाखा प्रमुख सुष्मा बुढाले बताए । यहाँ उत्पादित स्याउका बिरुवा बाहिर जिल्ला निर्यात गर्दा कुनै समस्या नहोस् भनेर कार्यालयबाट सिफारिस दिने गरिएको उनको भनाइ थियो । जिल्लाबाट हालसम्म ४९ हजार स्याउ र ओखरका बिरुवा बाहिरी जिल्लामा निर्यात भएको छ । अहिले नर्सरीमा रेड, रोयल डेलिसियस, गोल्डेन र जनाथन जातका स्याउका बिरुवा छन् ।  जुम्लामा १५५ स्याउ नर्सरी दर्ता भएका उक्त कार्यालयले जानकारी दिएको छ । स्याउ सुपरजोन परियोजना जिल्लामा लागू भएपछि आफूहरुलाई प्राविधिक ज्ञानदेखि स्याउका बिरुवा काटछाँटमा निकै राहत पुगेको यहाँका स्याउ किसानले बताए । रासस

सम्बन्धित सामग्री

जुम्लाका किसान ओखर खेतीमा आकर्षित

जेठ ८, खलङ्गा । जुम्लाका किसान पछिल्लो समयमा ओखर खेतीप्रति आकर्षण बढ्दो छ । गाउँका स्थानीयवासी यतिबेला हूल बाँधेर हिमाली लेकमा मात्र पाउने अमूल्य जडीबुटी यार्सा टिप्ने चटारो भएको छ ।  यहाँको तातोपानी गाउँपालिका–७ का स्थानीयवासी सूर्य बुढालाई भने नर्सरीमा ग्राफ्टिङ गरिएका ओखर र स्याउको रेखदेख गर्न भ्याइनभ्याई छ । स्याउ र ओखर नर्सरी अहिले बुढाका लागि घरमै बसेर आम्दानी गर्ने भरपर्दो काम बनेको छ । उनले यो वर्ष ओखरबाट ५ लाख रुपैयाँ सम्म आम्दानी गर्ने लक्ष्य लिएको बताए ।             गत वर्ष झण्डै १ हजार स्याउका बिरुवा बेचेका बुढाले यस वर्ष ७००ओटा  ओखरका बिरुवा ग्राफ्टिङ्ग गरेका छन् । तुलनात्मक रूपमा स्याउभन्दा ओखर ग्राफ्टिङ कमै सफल हुन्छ । जुम्लामा स्थानीय स्याउ प्रतिबिरुवा ५० देखि १०० रुपैयाँ र ओखर प्रतिबिरुवा १ हजार रुपैयाँमा विक्री हुने गरेको छ । तातोपानी गाउँपालिका–८ का विष्णु थापाले पनि व्यावसायिक नर्सरी खेती गरेका छन् । नर्सरीमा जङ्गली हाडे ओखरको मौज्दात प्रयोग गरिंदै आएको उनले बताए । जुम्लामा कुल १७० हेक्टरमा ओखर खेती भइरहेको प्रधानमन्त्री कृषि आधुनिकिकीकरण परियोजना कार्यान्वयन एकाइका प्रमुख नवराज भण्डारीले बताए ।          पछिल्लो समयमा यहाँका किसानले ओखर खेतीमा राम्रो गरेका छन् । जिल्लामा करीब नौ हजार कृषकले ओखर खेती गरेको पाइन्छ । ओखर खेतीको राम्रो सम्भावना हुँदाहुँदै पनि बिरुवा उत्पादनमा चुनौती देखिएको प्रमुख भण्डारीले जानकारी दिए । उनका अनुसार किसानका नर्सरीमा ५० प्रतिशत र अनुसन्धान केन्द्रमा झण्डै ७० प्रतिशत ग्राफ्टिङ सफल हुने गरेको छ, अहिले जुम्लाको ९० हेक्टर क्षेत्रफल जमीनमा ओखर फलिरहेको छ । औसतमा एक रूखमा ३० किलोसम्म ओखर उत्पादन हुने गरेको प्रमुख भण्डारीले बताए।             गत वर्ष यहाँ २७० मेट्रिक टन ओखर उत्पादन भएको थियो । कुल उत्पादनको ३० प्रतिशतबाहिर निर्यात हुने गरेको छ भने ६० प्रतिशत स्थानीय बजारमै खपत हुन्छ । सिजनमा कृषकले ओखर प्रतिदाना  पाँचदेखि १० रुपैयाँसम्ममा विक्री गर्छन् । यस वर्षदेखि ओखरको तथ्याङ्क तयार पार्ने, ओखरका जात छुट्टिने गरी नर्सरी स्थापना गर्ने, गुणस्तरहीन उत्पादन गर्नेलाई निरुत्साहित गर्नेलगायत काम भइरहेको छ ।             हालसालै टर्कीबाट आयात गरिएका बिरुवाको गुणस्तरीयता अध्ययन गर्ने र उक्त ओखर लगाएका कृषकसँग अन्तरक्रिया कार्यक्रम पनि भइरहेको प्रधानमन्त्री कृषि आधुनिकिकीकरणा परियोजनाले बतानाएको छ । परियोजनाका अनुसार कर्णाली प्रदेशमा १ हजार १०७ हेक्टरमा ओखर खेती हुन्छ । ३५० हेक्टर उत्पादनशील क्षेत्रफलबाट करीब १ हजार ४०० मेट्रिकटन ओखर उत्पादन हुने गरेको छ । रासस